Flash News

यात्री मोटरसाइकलको च्यासिस भाँचिएपछि कम्पनीद्वारा प्रष्टीकरण

९ जेष्ठ २०८०, मंगलवार ०२:३५

काठमाडौँ। नेपाली उत्पादनको पहिलो विद्युतीय मोटरसाइकल यात्रीको गुड्दागुड्दै च्यासिस भाँचिएपछि बजारमा तरंग फैलिएको छ। केही दिनअघि मात्र सरकारले सो मोटरसाइकललाई दर्ता (नम्बर प्लेट) दिने व्यवस्था गरेको थियो।

केही पार्टसहरु विदेशबाट आयात गरी डिजाइनसहित च्यासिस आफैंले उत्पादन गरेर मोटरसाइकल बनाएको यात्रीको सोही च्यासिस् नै भाँच्चिएपछि सुरक्षामाथि प्रश्न उठेको हो।

तर, यात्री कम्पनीले उक्त दुर्घटना बेचिएको मोटरसाइकलमा नभएर कम्पनीले नै परीक्षण गर्ने क्रममा भएको दाबी गरेको छ । ‘दुर्घटनामा परेको बाइक फस्ट पोर्टटाइपको मोडल हो, जुन पहिलोपटक उत्पादन गरिएको बाइक हो । यो आफैंमा सुरक्षा परीक्षणका क्रममा रहेको थियो’ कम्पनीका इन्जिनियर ठाकुर पौडेलले रातोपाटीसँग भने, ‘यो पछि हामीले यस्ता ८ वटा पोर्टटाइपको मोडल उत्पादन गरिसकेका छौँ र परीक्षणमा उत्कृष्ट रहेको छ।’

पौडेलका अनुसार दुर्घटनामा परेको मोटरसाइकल यात्रीको पी १ मोडल हो। जुन मोटरसाइकल करिब १ लाख किलोमिटर गुडिसकेको छ। सोमबार परीक्षणकै क्रममा राइडर अविषेक शाहीले चलाउँदै गर्दा उक्त मोटरसाइकल दुर्घटनामा परेको उनको भनाइ छ। यात्री मोटरसाइकलका झण्डै १०० वटा मोटरसाइकल बजारमा गुडिरहेको कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्