काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चर्चामा आउनका लागि नभई दिगो र कार्यान्वयन गर्नेगरी सडक अनुगमन गरिरहेको बताएका छन् ।
मंगलबार भौतिक तथा पूर्वाधारमन्त्री ज्वालाले चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीदेखि बसुन्धरासम्मको सडकको स्थलगत निरीक्षण गर्ने क्रममा यस्तो बताएका हुन् । उनले कंलकीदेखि बसुन्धरासम्मको सडक निर्माणमा देखिएका समस्या स्थलगत निरीक्षणबाट समाधान खोज्नको लागि चिनियाँ राजदूत, आयोजना प्रमुखसहित अनुगमन गरिएको बताए । उनले कलंकीदेखि महाराजगञ्जसम्मको ८.२ किमि सडक खण्ड बिस्तार गर्न कुनैपनि समस्या नदेखिएको बताए ।
मन्त्री ज्वालाले सडक निर्माण गर्न सडकको दुवैतर्फ कुनैपनि समस्या नदेखिएकाले चाँडै डिपिआर तयार गरेर ठेक्का प्रक्रियामा जाने बताए । उनले कंलकीदेखि बसुन्धारासम्मको रिङ रोड सडक खण्डको दोस्रो चरणको निर्माण चीन सरकारको अनुदानमा बन्न लागेको बताए । उनले उक्त खण्डमा ढुङगेधारा, गोगबु र बसुन्धारामा अण्डरग्राउण्ड पास आवश्यकता देखिएकाले चीन सरकारसँग सहमति गरेर तीन ठाउँमा अण्डरपास बनाउने सहमति समेत भएको बताए ।
मन्त्री ज्वालाले कंलकीदेखि बसुन्धरासम्म ८ लेनको फराकिलो सडक निर्माण अब तत्काल अगाडि बढ्ने आशा जगाएको बताए । उनले मन्त्री भएर आएपछि अनुगमन गरिसका सडक निमाण प्रक्रिया ढिला भएका आयोजनाहरुको कामको प्रगति तीव्र रुपमा बढेको बताए ।