Flash News

पहिलो सहभागितामै चर्च ब्वाइजलाई उपाधि

२४ जेष्ठ २०८०, बुधबार ०१:३४

काठमाडौँ। चर्च ब्वाइज युनाइटेडले शहीद स्मारक ए डिभिजन लिगको ४४ औं संस्करणको उपाधि जितेको छ। बी डिभिजनबाट बढुवा भएकै सिजन चर्च ब्वाइजले उपाधि जित्यो।

मंगलबार दशरथ रंगशालामा थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोकेर उपाधि पक्का गर्दासम्म चार महिनासम्म चलेको लिगमा चर्च ब्वाइजले धेरै उतार चढाव भोग्नु परेको थियो।

‘च्याम्पियन हुँदासम्म हाम्रो टिमले धेरै उतारचढाव भोगेको छ, हामीले बिचमा २ खेल प्रशिक्षक बिना पनि खेल्नु पर्‍यो। त्यो बेला हाम्रो टिमको आत्मविश्वास धर्मराइसकेको थियो’, कप्तान अनन्त तामाङले थ्री स्टारसँगको खेलमा बराबरीपछि भने।

नेपाली मुलका अमेरिकी नागरिक प्रदिप हुमागाईँको प्रशिक्षणमा लिग सुरु गरे पनि वर्क परमिट नपाएपछि हुमागाईँले टिम छाडे। त्यसपछि लिगको छैटौं र सातौं खेल चर्च ब्वाइजले बिना प्रशिक्षण खेल्नु परेको थियो। न्यूरोड टिम एनआरटी र एपीएफसँगका ती दुवै खेलमा चर्च ब्वाइज बराबरीमा रोकिएको थियो।

आठौं चरणमा भने बाल गोपाल महर्जन चर्च ब्वाइजको टच लाइन सम्हाल्न आइपुगेका थिए। जसले प्रशिक्षकको रुपमा पहिलो पटक ए डिभिजन लिगको उपाधि जिते।

‘आज यो अवस्थामा आइपुग्दा २०१२ देखि आफ्नै रेखदेखमा खेलिरहेका छोरासँगैका खेलाडीसँग उपाधि जित्न पाउँदा निकै खुसी छु,’ रंगशालामा पत्रकारसित महर्जनले भने, ‘टिमवर्क र लगनशीलताले गर्दा खेल जितेको जस्तो लाग्छ। यो जित सबै टिम व्यवस्थापन र सबैको मेहनतले सम्भव भएको हो।’

खेलाडीको रुपमा २०६१ सालमा थ्री स्टार क्लबबाट उपाधि जितेका महर्जनले थपे, ‘अन्तिम खेल पनि अपराजित रहँदै मेडल लगाउने इच्छा छ।’ नेपाली राष्ट्रिय टिमका प्रशिक्षक रहेर पनि उपाधि जितेका उनी प्राविधिक पक्षदेखि हरेक पक्ष राम्रो भएका कारण लिग जित्न सकेको बताउँछन्।

व्यवस्थापकीय सवलतादेखि हरेक कुरा मिलेको हुनाले चर्च ब्वाइजलाई सफलता मिलेको थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले बताए। ‘एउटा टिम तबमात्र च्याम्पियन बन्छ। जब टिममा सबैकुरा मिलेको हुन्छ। चर्च ब्वाइजमा व्यवस्थापकीय पक्षदेखि खेलाडी, प्रशिक्षक र हरेककुरा अन्यको भन्दा राम्रो भएका कारण नै लिग जित्यो।’

प्रतिक्रिया दिनुहोस्