Flash News

‘विकास मोडेलबारे फरक ढंगले सोच्नुपर्ने अवस्था आएको छ’

२५ जेष्ठ २०८०, बिहीबार १४:१८

बुटवल। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भइरहेको विकास  पद्धतिका बारेमा फरक ढंगले सोच्नुपर्ने बताएका छन्।

बुटवलमा लुम्बिनी केबलकारको बिहीबार उद्घाटन गर्दै उनले विकास मोडेलबारे पुनर्विचार गर्नुपर्ने बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले योजनाबद्ध विकासको प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, समावेशिता जस्ता क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए।

उत्पादन रोजगारीको क्षेत्रमा प्रगति उत्साहजनक नभएको उनले बताए। अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन घरजग्गा कारोबारलाई सुचारु गर्ने निर्णय गरिएको उनले उल्लेख गरे। पछिल्लो समयमा व्यावसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हाबी हुनु दुःखद भएको उनले बताए। उनले भने, कृषि, म्यानुफेक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थिर रहन्छ।’

प्रधानमन्त्री प्रचण्डले उच्च मुद्रास्फीति र अस्थिर ब्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले सरकारले उपर्युक्त कदम चाल्ने विश्वास दिलाए। निजी क्षेत्रका समस्या समाधान गर्नको लागि सरकार तयार रहेको उनले बताए।  उनले सरकारले नयाँ योजनाभन्दा पनि महत्पूर्ण आयोजनालाई निरन्तरता दिनुपर्ने अवस्थामा रहेको बताए।

कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनीको पर्यटन विकास गरेमात्रै देशको आर्थिक अवस्था सुधार हुने बताए। गौतमबुद्ध विमानस्थललाई पूर्णरूपमा सञ्चालन गर्न सरकारले ध्यान दिनुपर्ने उनले बताए। विमानस्थलबाट लुम्बिनीमा पर्यटन ल्याउन सकिने भएको यसको महत्त्व अन्तर्राष्ट्रिय क्षेत्रमा समेत रहेको उनले बताए।

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संघीयता कार्यान्वयन गर्नका लागि प्रहरी प्रदेशमा दिनुपर्ने बताए। प्रहरी विनाको प्रदेश सरकार कसरी हुन्छ भन्दै उनले प्रश्न गरे। संधीयता कार्यान्वयन गर्न संविधानले तोकेको अधिकार प्रदेशलाई दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्