Flash News

मर्ज हुन इच्छुक क्याम्पसका लागि निवेदन आह्वान

३० जेष्ठ २०८०, मंगलवार ०६:४५

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले एकापसमा गाभिन (मर्ज) हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन आह्वान गरेको छ।

त्रिविले सूचना निकालेर त्रिविबाट सम्बन्धन प्राप्त गरेका दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने जनाएको हो। मर्ज हुन चाहने क्याम्पसहरुले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराएर निर्देशनालयमा निवेदन दिन सक्नेछन्।

निवेदनको साथमा मर्ज हुन इच्छुक क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरु, नवीकरण पत्रहरु र अक्षयकोषको रसिदसमेत पेस गर्न त्रिविले भनेको छ।त्रिविका कतिपय सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरु न्युन विद्यार्थी र सन्चालन खर्चको अभावमा संकटमा छन्।

विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभर १ हजार ४४० आंगिक, सामुदायिक र निजी क्याम्पसहरुमध्ये ३ सय निजी, २१८ सामुदायिक र २१ क्याम्पसमा १०० भन्दा कम विद्यार्थीहरु छन्। कतिपयले अध्यापक र कर्मचारीहरुलाई तलबसमेत खुवाउन नसकेका समाचार सार्वजनिक हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्