Flash News

‘समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौं’

३१ जेष्ठ २०८०, बुधबार ०६:५४

दाङ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन्।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताए।

मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको जानकारी दिँदै प्रचण्डले भने, ‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ।’

विगतमा नेकपा एमालेसँग एकता गरेर नेकपा बनाए पनि सफल नभएको भन्दै उनले फेरि नेकपा बनाउने कोसिस भइरहेको बताए। ‘हिजोको एकता कायम राख्न सम्भव भएन,’ उनले भने, ‘फेरि नेकपा बनाउने कोसिस भइरहेको छ। यसभित्र ठूलो अर्थ छ।’

जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न नसकिने भन्दै उनले त्यसका लागि सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउने बताए।

नेकपा एमालेमा पनि एकताका पक्षधर रहे पनि मूल नेतृत्व नै एकताको बाधक देखिएको बताए। ‘फेरि एकताका लागि पहल गर्नुपर्ने छ,’ प्रचण्डले भने, ‘एमालेमा पनि एकताका पक्षधरहरू छन्। उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ। त्यहाँ मुख्य नेतृत्व नै मूलरूपमा एकताको बाधक देखिन्।’

प्रतिक्रिया दिनुहोस्