Flash News

नेता वर्षमान पुन १ असारमा नेपाल आउने

३१ जेष्ठ २०८०, बुधबार १२:२१

काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल आउने भएका छन् ।

लामो समयदेखि चीनमा उपचार गराएका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्कन लागेका हुन् ।

उनी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीसहित असार १ गते शुक्रबार बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

पूर्व अर्थ तथा ऊर्जा मन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए ।

पुनले गत चैत्र ७ गते टेलिफोन मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग समसामयिक राजनीतिबारे संवाद गरेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि आफ्नो निर्वाचन क्षेत्र रोल्पाको चुनावी कार्यक्रममा उनी घरदैलोमा निस्कन सकेनन् । मंसिर ४ गते मतदान गरेलगत्तै उनी काठमाडौँमा आएर आराम गरिरहेका थिए ।

माओवादी केन्द्रका तर्फबाट सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट कार्यदलमा रहेर काम गरेका नेता पुनको कार्यव्यवस्थताका कारण पुरानै रोग जण्डिस बल्झिएको थियो ।

जण्डिस दोहोरिएपछि नेता पुन २०७८ साल असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि त्यसयता उनको चीनको सेनजेनमा उपचार हुँदै आएको छ ।

नेपालमा हुँदा नेता पुनको उपचार सुमेरु अस्पतालमा डा। युवराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्