Flash News

‘नवीन सोच देशको सामाजिक रुपान्तरण निम्ति अपरिहार्य छ’

५ असार २०८०, मंगलवार ११:४४

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको बताएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले विगतदेखि कहिले बिद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुबिकरण र प्रक्रियाको निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो।’

उनले हरदम आफ्नो बिचार, सोच र शैलीलाई सृजनात्मक ढंगले विकास गर्ने व्यक्तित्वको आफूले सँधै उच्च मूल्याङ्कन गर्ने गरेको बताए। ‘मानव समाजको विकास पनि नवीन सोचको खोजीको क्रममा भएको हो। मानव र अरु प्राणी बीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित छ,’ प्रधानमन्त्रीले भने, ‘अहिले २१ औं शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचहरुलाई अझ नवीन र तीब्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनु पर्दछ। मलाई विश्वास छ, तपाईहरुले यो प्रतिभा डबली कार्यक्रमबाट यस्तो सृजनात्मक नवीन सोचलाई प्रोत्साहित गर्न आ–आफ्नो ठाउँबाट चिन्तनमनन गरिराख्नुभएको छ।’

प्रधानमन्त्रीले वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमिक्षा गर्ने विधि भएको बताए। उनले नेपालमा कर्मचारी भित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम कर्मचारीतन्त्र रहेको विश्वास व्यक्त गरे। प्रधानमन्त्रीले स्थायी सरकारको रुपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रुपले प्रभावित हुने बताए।

प्रतिक्रिया दिनुहोस्