Flash News

हाम्रो पार्टी पार्टीजस्तो भइरहेको छैन: अध्यक्ष प्रचण्ड

१७ श्रावण २०८०, बुधबार ०९:४८

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन्।

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकमा उनले यो बैठकलाई पार्टी पुनर्निर्माणको सुरुवात बनाउनुपर्ने धारणा राखेका छन् । ‘हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन, पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ’ उनले भने ।

अहिले सरकारका कारण जनतामा आशा पलाएको दाबी गर्दै प्रचण्डले यो बेला संगठन विस्तार गर्नुपर्ने पनि बताए । ‘सरकारका कारण जनतामा आशा पलाएको छ । जनताको भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ’ उनले भने, ‘आउने दिनमा एक्सन ओरियन्टेड भएर जानुपर्ने छ ।’

अहिलेको गठबन्धनको सरकार सुशासनको क्षेत्रमा कटिवद्ध भएर लागेको भन्दै प्रचण्डले यसलाई अझ ब्यापक बनाउनुपर्ने बताए । पार्टीमा विभिन्न उतारचढाव भए पनि आफूहरु जनता र राष्ट्रको पक्षमा रहेको बताएका प्रचण्डले कमी कमजेरी इमान्दारीका साथ स्वीकारेर अघि बढ्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्