नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्वको लागि सहमति हुन नसकेपछि निर्वाचन हुने भएको छ । शनिबारदेखि सुरु भएको अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन हुने भएको हो ।
नेतृत्वको लागि अध्यक्षमा निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरि रिजालले उम्मेदवारीदर्ता गरेका छन् ।
कँडेलले राजु श्रेष्ठको प्रस्तावक र भोजराज पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै रिजाललाई विजय विराज बिष्ट प्रस्तावक र बालसिंह काउछाले समर्थन गरेका छन् ।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रलाई सम्बोधन गर्दै सहमति गर्न आग्रह गरेको भए पनि अध्यक्षका आकांक्षीहरू कँडेल र रिजालले एक आपसमा सहमति गर्न नमानेपछि निर्वाचनबाट नेतृत्व चयन गर्ने अवस्था आएको हो ।
प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले आइतबार राति ८ बजेदेखि निर्वाचन प्रक्रियाको काम स्थगित गरी सोमबार बिहान १० बजेसम्म मनोनयनको समय थप गरिएको जानकारी दिए ।
अध्यक्षलगायत उपाध्यक्ष, सचीव, उपसचिव सदस्य सबै पदमा आवस्यक संख्याभन्दा धेरैको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
सोमबार मनोनयनको काम सकिएपछि मतदानको काम सुरु गरिने प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचीव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।
लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाईंको रूपमा लिँदा अझ पेचिलो बन्दै गएको छ ।
महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष राधाकृष्ण कँडेललाई समर्थन गरेका छन् । यद्यपि, दुवैका एजेन्डा भने खास छैनन् ।
योसंगै पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत दुई भागमा विभाजित भएको देखिन्छ । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेत नारायण आचार्य, भूमिश्वर ढकाल र शिवराज सुवेदी रिजालको पक्षमा लागेका छन् भने सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण बिष्ट, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, वैजनाथ चौधरी लगायत कँडेलको पक्षमा लागेका छन् । अधिवेशन प्रतिनिधिहरू समेत नेताहरू जस्तै दुई भागमा विभाजित छन् ।
Source : www.shilaptra.com