Flash News

एमाले कर्णाली प्रदेश अधिवेशन: यि हुन् अध्यक्षका दाबेदार

१० आश्विन २०८०, बुधबार ०५:५९

सुर्खेत। एमालेको कर्णाली प्रदेश अधिवेशन आजदेखि सुरू हुँदैछ।

सुर्खेतस्थित सिटी हलमा हुने प्रथम अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे गर्ने छन्।अधिवेशनमा महासचिव शंकर पोखरेल पनि अतिथिको रूपमा सहभागी हुनेछन्। कर्णाली प्रदेश अधिवेशनमा ६०४ जना प्रतिनिधि सहभागी हुने छन्।

तीमध्ये २२ वटा मोर्चा संगठनबाट ५० जना प्रतिनिधि रहने प्रदेश अध्यक्ष शाहले बताए। अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूमध्ये १९५ जना महिला छन्।

यसभित्र समावेशी रूपमा एक सय ११ जना दलित प्रतिनिधि रहेका छन्। पार्टी सदस्यको आधारमा छनोट गरिएका १० जिल्लाका ५५४ जना प्रतिनिधि छन्। जिल्लागत रूपमा सुर्खेतका एक सय १२, जाजरकोटका ७५, दैलेखका ७४, कालीकोटका ६५, हुम्लाका ४८, जुम्लाका ४८, डोल्पाका ३९, मुगुका ३३ र रूकुम पश्चिमका २३ जना प्रतिनिधि रहेका छन्।

असोज ११ गते अधिवेशनको बन्द सत्र हुनेछ। बन्द सत्रबाट पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नेछ। अधिवेशनबाट ५ जना पदाधिकारीसहित १३५ सदस्यीय प्रदेश कमिटी बन्नेछ।

 को-को छन् प्रदेश अध्यक्ष दाबेदार?

मुलुक संघीयतामा गएपछि एमालेले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो। कर्णाली प्रदेशको आगामी नेतृत्वका लागि उपाध्यक्ष लालबहादुर महतारा, मीनबहादुर शाही, ध्रुवकुमार शाही र राजबहादुर शाही प्रतिस्पर्धामा छन्।

अहिले अध्यक्ष रहेका विनोद शाह प्रदेश सभा सदस्यमा निर्वाचित भएकाले उनी अध्यक्षमा दोहिरिन पाउँदैनन्। एमाले लुम्बिनीको अधिवेशन भदौ १६ र १७ गते बुटवलमा भएको थियो। लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिस्पर्धा देखिएको थियो।

 कडा प्रतिस्पर्धाबीच उपाध्यक्ष पौडेल पक्षमा राधाकृष्ण कँडेल प्रदेश अध्यक्षमा निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी महासचिव पोखरेल खेमाका हरि रिजाल २ मतले पराजित भएका थिए।

कर्णाली प्रदेशमा पनि यसको प्रभाव पर्न सक्ने एक नेताले बताए। तथापि उपाध्यक्ष पौडेल र महासचिव पोखरेलकै नाममा प्यानल खडा हुने सम्भावना नदेखिएको ती नेताको दाबी छ।

 कर्णाली प्रदेशमा दुई स्थायी कमिटी सदस्य यामलाल कँडेल र गोरखबहादुर बोगटीबीच प्रतिस्पर्धा छ। यी दुई नेताले अहिले त्यहाँ समूहबन्दीको प्रयास गरिरहेको ती नेताले बताए।

एमाले कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका कँडेलले ध्रुवकुमार शाहीलाई प्रदेश अध्यक्षमा अघि सार्ने तयारी गरिरहेका छन्

नेकपा कालमा शाही माधवकुमार नेपाल समूहमा थिए। पार्टीभित्र विवाद बढ्दै जाँदा उनी अध्यक्ष केपी शर्मा ओली खेमामा लागे। गत वर्षको प्रतिनिधि सभा चुनावमा उनी कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग पराजित भएका थिए।

मानव अधिकार एलायन्सका अध्यक्ष रहिसकेका मीनबहादुर शाहीलाई गोरखबहादुर बोगटीको समर्थन रहेको छ। बोगटी पार्टीमा वरिष्ठ नेता ईश्वर पोखरेलनिकट हुन्। नेकपाकालमा उनी प्रदेश अध्यक्ष पनि थिए। त्यसपछि नेकपा विभाजनपछि गुलाबजंग शाह प्रदेश अध्यक्ष तोकिएका थिए।

एमाले कर्णालीको प्रदेश कमिटी २ सय ४२ सदस्यीय रहेको छ। अधिवेशनले १ सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।एमालेमा जिल्ला अध्यक्षहरू प्रदेश कमिटीका पदेन सदस्य हुने छन्। प्रदेश अध्यक्ष पदेन पोलिटब्युरो सदस्य हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्