राजनीनिती

बालेनले स्वर्णिम योजना ‘साथी महानगर’ कार्यान्वयनमा ल्याए !

२० कार्तिक २०८०, सोमबार ०८:४५

काठमाडौं,२० कार्तिक । काठमाडौं महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ ।महानगरपालिकाका मेयर बालेन शाहका अनुसार महानगरबासीका सुख दुःखमा सँगै रहनका लागि यो कार्यक्रम सञ्चालनमा आएको हो ।

सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य रहेको मेयर शाहले बताए ।

सोमबार फेसबुकमा स्ट्याट्स राख्दै मेयर शाहले ‘भेटौंला, महानगरबासीको दुःख मेटौंला’ कार्यक्रम अन्तर्गत महानगरबासीलाई विपन्न वर्गका परिवारलाई किरिया खर्चका लागि २० हजार रुपैयाँसम्म र सुत्केरी सहयोगका लागि १० हजार रुपैयाँसम्म दिने बताएका छन्।

‘सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव नहोस्, किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस् । यसका लागि कार्यक्रम सञ्चालनमा ल्याएका हौँ’ मेयर हाले सामाजिक सञ्जालमा भनेका छन् ।

उनले काठमाडौँ महानगरबासीमा यस्तो अवस्था छ भने आफू बसोबास गरिरहेको वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्न अनुरोध समेत गरेका छन् ।

यसरी सम्पर्क गर्न जाँदा तपाईँलाई कस्तो सहयोग चाहिएको हो, केका लागि सहयोग चाहिएको हो,ब्यहोरा खुलेको निवेदन लिएर जानुपर्ने महानगरले जनाएको छ । निवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, काठमाडौँ महानगरपालिकाबासी भएको र सहयोग आवश्यक भएको वडाको सिफारिस पनि समावेश गर्न मेयर बालेनले आग्रह गरेका छन् ।

किरिया खर्च

महानगरले विपन्न व्यक्ति र किरिया खर्चको समेत जुटाउन नसक्नेका लागि २० हजार सम्म खर्च उपलब्ध गराउने भएको छ । महानगरले विपन्न अन्तर्गत घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कुनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको,कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको भनी वडा कार्यालयमा सिफारिस लिनु पर्ने जनाएको छ ।

यस्तै घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक अस्वस्थ रहेकोलाई परिवारको हकमा महानगरपालिकाले १५ हजार सम्म किरिया खर्च उपलब्ध गराउने छ ।

सुत्केरी सहयोग

शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गर्ने छ ।

यस्तै ४२ दिन भित्रको सुत्केरी, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको,परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराउने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्