राजनीनिती

चौरजहारी जिप दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु !

४ मंसिर २०८०, सोमबार ०८:२५

रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीजिउलामा आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठका अनुसार दुर्घटनामा घाइते भएका चौरजहारी नगरपालिका-१३ का ४५ वर्षीय मस्तबहादुर वलीको मृत्यु भएको हो।

उनको चौरजहारीस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए।

गम्भीर घाइते भएका सानीभेरी गाउँपालिका – २ की सपना बुढाका १७ महिने छोरा प्रतिक बुढा र चौरजहारी नगरपालिका – १३ की ४ बर्षीया डिला बिष्टलाई बाँकेको नेपालगंज रिफर गरिएको छ।

प्रतिकको बाँया कुम भाँचिएको र डिलाको टाउको र अनुहारमा गहिरो चोट पटक लागेको छ । उनीहरु दुबै अचेत रहेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए।

आज बिहान ८:५० बजे चौरजहारीबाट रूकुम मुसिकोट खलंगा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट झन्डै तीन सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा २१ जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्