Flash News

रास्वपाको तीन दिने केन्द्रीय बैठकदेखि सभा र भेला मधेश प्रदेशमा आयोजना

१० मंसिर २०८०, आईतवार ११:१५

१० मंसिर, काठमाडौं । संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी मधेश केन्द्रित भएको छ । मंसिर ८, ९ र १० गते सभा, अन्तक्रिया तथा नागरिकसँग भेटघाट गरेको रास्वपाले सोमबारदेखि तीन दिनसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक मधेशमै गर्दैछ । ११ मंसिर देखि १३ गतेसम्म महोत्तरी, जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आव्हान गरिएको छ । बैठकमा प्रदेश सभापति, इञ्चार्ज र महामन्त्रीलाई पनि आमन्त्रित सदस्यका रुपमा बोलाइएको छ ।

महामन्त्री मुकुल ढकालका अनुसार मधेशलाई पार्टीले प्राथमिकतामा राखेर कार्यक्रमहरु निर्धारण गरेको बताउँछन् । सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरु खटिएर मधेशका आठ जिल्लामा सभा, अन्तक्र्रिया तथा भेटघाट गरिरहेका छन् । मधेशमा हुने कार्यक्रममा सभापति लामिछाने, उपसभापति डीपी अर्याल, सांसदहरु मनिष झा, सोविता गौतम लगायत सहभागी भएका छन् । रौतहटको सन्तपुर र गौरमा शनिबार जनसभा राखिएको थियो । शुक्रबार बाराको सिम्रौनगढ र निजगढमा सभा भएको थियो, आइतबारको लागि सप्तरीको छिन्नमस्ता, फत्तेपुरमा र आइतबार विहान सिरहाको गोलबजारमा पनि कार्यक्रम गरिएको छ ।

बैठकमा महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल हुने भएको छ । बैठकमा छलफलका थप एजेण्डामा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन लगायत छन् । ‘सभापतिको राजनीतिक प्रतिवेदन प्रस्तुत हुन्छ । पार्टीको नीतिगत वैचारिक स्पष्टता निर्णय गर्छौं,’ महामन्त्री ढकालले भने । पार्टीले अंगिकार गर्ने नीतिका विषयमा विवाद बढेपछि थप बहसका लागि थाति राखिएको थियो ।

दस्तावेज निर्माणका लागि १७ जनाले तयार गरेको मस्यौदा, १९ फरक फरक जिल्लाबाट नागरिकका सुझाव, नीतिमाथिको बहसबाट आएका विषयहरु समेटेर दस्तावेज निर्माण गर्न लागिएको छ । बैठकमा प्रदेशका इञ्चार्ज र महामन्त्री पनि सहभागी हुने भएका छन् । केन्द्रीय सदस्य, सांसद, प्रदेशका सभापति, इञ्चार्ज र महामन्त्री गरेर एक सय आसपासको उपस्थित हुने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्