राजनीनिती

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार मामा-भान्जाको मृत्यु !

३० मंसिर २०८०, शनिबार ०६:०९

दाङमा टिपरले मोटरसाइकललाई  ठक्कर दिँदा दुई किशोरको मृत्यु भएको छ।

गएराति १०:२० बजे  तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले घोराहीबाट  तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका – १० झारबैरा चोकमा ठक्कर दिएको थियो।

दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार प्यूठानको झिमरुक गाउँपालिका – ४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका – ६ लुङका १८ बर्षीय सागर केसीको मृत्यु उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जानकारी दिए।

मृतक दुई किशोर मामा-भान्जा रहेको खुलेको एसपी केसीले जानकारी दिए।  मोटरसाइकल जिसीले चलाएका थिए।

दुर्घटनापछि मोटरसाइकलमा सवार दुवैलाई गम्भीर घाइते अवस्थामा प्रहरीले अस्पताल पुर्‍याएको थियो। अस्पतालमा गएराति पौने ११ बजेतिर चिकित्सकले दुबैलाई मृत घोषणा गरेको एसपी केसीले जानकारी दिए।

टिपर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका – ९ का २६ वर्षीय इश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोटरसाइकल चालकको साथबाट सवारी चालक लाइसेन्स फेला नपरेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्