Flash News

संघीय निजामति र संघीय प्रहरी ऐन हिउँदे अधिवेशनबाट पारित गर्छौंः उपप्रधानमन्त्री खड्का

५ पुष २०८०, बिहीबार १२:४२

नेपाली काँग्रेसका उपसभापति एवं सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरु हिउँदे अधिवेशनबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बिहीवार पार्टीको मधेस प्रदेशको अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीयतासँग जोडिएका कानूनहरु बनाउन ढिलो भएको र सरकार त्यसमा चुकेको बताउनु भयो । उहाँले वर्तमान सरकार संघीय ऐनहरु तत्काल निर्माण गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले संघीय निजामति सेवा ऐन, संघीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयन लगायत अन्य संघीय ऐनहरु आउने हिउँदे अधिवेशनमै प्रश्तुत गरेर पारित गर्ने तयारी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म नेपाल सरकारको तर्फबाट भन्न चाहन्छु, संघीयतासँग जोडिएका कानूनहरु बनाउन ढिलो भएको छ, हामी चुकेका छौँ । हामीले ०७२ सालको संविधान जारी ग¥यौँ । आज ०८० सालमा पनि हामीले संघीय निजामति ऐन, संघीय प्रहरी ऐन ल्याउन सकेका छैनौँ, अन्य संघीय ऐनहरु आउन सकेका छैनन् । तथापि हामीले वर्तमान सरकार बनिसकेपछि नेपाली काँग्रेसको समर्थनमा सरकार बनेको छ । वर्तमान सरकार बाँकी भएका संघीयसँग, प्रदेशको अधिकारसँग जोडिएका कानूनहरु तत्काल निर्माण गर्ने तयारीमा छौँ । कतिपय संसदका समितिमा गएर छलफलका विषय बनेका छन् । हामी संघीय निजामति सेवा ऐन, संघीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयन लगायत जतिपनि संघीय ऐनहरु बनाउन ढिलो भएको छ, हामी नेपाली काँग्रेसको तागतमा संघीय ऐनहरुलाई आउने हिउँदे अधिवेशनमै प्रश्तुत गरेर पारित गर्नेछौँ ।’

उपसभापति खड्काले काँग्रेस सरकारमा गएपछि विभिन्न संघीय ऐनहरु निर्माणमा जोड दिइरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्