Flash News

माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने, ७ सदस्यीय विधान मस्यौदा समिति गठन

५ पुष २०८०, बिहीबार १३:२४

नेकपा(माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ ।

माओवादी केन्द्रको बिहीवार बसेको पदाधिकारी बैठकले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले विधानको मस्यौदा बनाउनका लागि ७ सदस्यीय समिति गठन गरेको जानकारी दिनुभयो । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहनुभएको उहाँले बताउनु भयो । प्रवक्ता सापकोटाले पार्टीको केन्द्रिय कमिटी बैठक पनि फागुन पहिलो साता नै बस्ने पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भनेर निर्णय गरेका छौँ । विधानको मस्यौदा बनाउनका लागि ७ सदस्यीय समिति बनेको छ । समितिमा पम्फा भुसाल, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, गणेश शाह र राम कार्की रहेको  ७ सदस्यीय विधान मस्यौदा समिति बनेको छ । केन्द्रीय समितिको बैठक पनि फागुनको पहिलो साता नै बस्छ ।’ 
बैठकमा माओवादीको चलिरहेको जनतासँग माओवादी–विशेष रुपान्तरण अभियानको समिक्षा भएको उहाँले बताउनु भयो । अभियानले पार्टीलाई जीवन्त र गतिशिल बनाएको र नेता, कार्यकता र जनताका बीचमा नयाँ ढंगले सम्बन्ध स्थापित भएको निष्कर्ष निकालिएको उहाँले बताउनु भयो । अभियान प्रभावकारी भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो अभियानको समिक्षाको बारेमा अभियान, विगतको अभियानको तुलनामा प्रभावकारी भयो । जीवन्त भयो । चलायमान भयो । गतिशिल भयो । नेता र कार्यकर्ता, कार्यकर्ता र जनताको बिचमा फेरि एकपल्ट नयाँ ढंगले सम्बन्ध स्थापित भयो । र, सारमा भन्दाखेरी जनतासँग माओवादी विशेष रुपान्तरण अभियान निकै प्रभावकारी ढंगले सफल भएको छ । समग्रमा यसले पार्टीलाई पुर्नताजगी बनाएको छ । र सबैलाई सक्रिय बनाउने भुमिका खेलेको छ । पुष १६ गते समापन गर्ने भनिएको छ । यसको समापन पुस १६ गते पालिकाहरुमा वृहत जनपरिचालनसहित समापन हुँदैछ ।’ 

जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान पुस १६ गते सबै पालिकाहरुमा वृहत जनपरिचालसहित समापन हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालको प्रश्नको जवाफ दिँदै प्रवक्ता सापकोटाले पदाधिकारी बैठकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिनुभएको विषयमा कुनै छलफल नभएको बताउनु भयो । पदाधिकारीको अघिल्लो बैठकमा राजीनामाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी भने गराउनुभएको उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्