Flash News

सामन्था पावरले गरिन् नेपाललाई ७ अर्ब सहयोग घोषणा

२४ माघ २०७९, मंगलवार १४:३९

काठमाडौँ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रशासक सामन्था पावरले युएसएआइडीले ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी)सम्मको सहयोग प्रदान गर्ने घोषणा गरेकी छन्।

उक्त रकम नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन खर्च हुने जनाइएको छ। उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो।

प्रशाशक पावरले यसै वर्ष पारदर्शी तथा शान्तिपूर्ण आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूको सशक्तिकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको जनाइन्। यस कार्यमा अमेरिकाको साझेदारी रहने उनको भनाइ छ।

‘युएसएआइडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछन्,’ पावरले भनिन्, ‘मानव बेचबिखनविरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआइडीले जारी राख्‍नेछ।‘

आज घोषित लगानीमा आर्थिक दृष्‍टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही तवरबाट सार्वजनिक सेवाहरू प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको जनाइएको छ ।

नागरिक समाज र सञ्‍चार माध्यमको समर्थन स् उक्त लगानीमा सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायहरूका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम समाविष्‍ट छ ।

सरकार र आमजनतासँग प्रभावकारी रूपमा संलग्न हुन आवश्यक सिप, विश्वसनीयता र विधिहरू विकास गर्दै गर्दा उक्त नागरिक समाजका संगठनहरूसँग युएसएआइडीले काम गर्नेछ । युएसएआइडीले सञ्चार माध्यममाथिको सामाजिक विश्‍वास बढाउने किसिमका विश्‍वसनीय सूचना र अझ बढी विविधतायुक्त भाष्यहरूमा सार्वजनिक पहुँच सुधार गर्ने प्रयासहरूलाई सहयोग गर्न सञ्चार माध्यमहरूसँग पनि साझेदारी गर्नेछ ।

स्थानीय निर्वाचन तथा कानुनी शासनलाई मजबुत बनाउने र मानव बेचबिखनविरुद्ध लड्ने स् कानुनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्‍पक्ष निर्वाचनलाई थप टेवा पुर्‍याउन र मानव बेचबिखनविरुद्ध लड्न पनि युएसएआइडीले स्थानीय नेपाली सङ्गठनहरू र सरकारी संस्थाहरूसँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्नेछ ।

यी नयाँ लगानीहरू नेपालका लक्ष्य र आकाङ्क्षाहरूलाई टेवा पुर्‍याउन नेपालका सरकार र जनता, निजी क्षेत्र र अन्यसँग रहेको युएसएआइडीको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित रहेको जनाइएको छ। ‘साझेदारीप्रति युएसएआइडीको दृष्टिकोण नेपालीहरूले आफ्नो लोकतन्त्रलाई कसरी सुदृढ बनाउने भनी राम्ररी जान्दछन् र सम्मानजनक र पारस्परिक सहयोगबाट मात्र हामी नेपाललाई समृद्ध बन्न मद्दत गर्न सक्छौँ भन्ने मान्यतामा आधारित छ,’ उनले भनिन् ।

नेपालले हालसालै जारी गरेको साझा न्यूनतम कार्यक्रममा समाविष्‍ट लगायतका सरकारी प्राथमिकताहरूसँग हाम्रो सहयोगलाई समायोजन गर्न सम्बन्धित नेपाली सरकारी निकायहरूसँगको साझेदारीमा काम गर्न युएसएआइडी तयार रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्