Flash News

प्रधानमन्त्री प्रचण्ड र सामन्था पावरबीच भेट

२५ माघ २०७९, बुधबार ११:२१

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ।

बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रमुख सामन्थाले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी हुन्। भेटका क्रममा उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिइन्।

उनले यसअघि मंगलबार परराष्ट्रमन्त्री डा। विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन्। दुई दिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेकी उनी आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर आज नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

स्वदेश फर्किनुअघि आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्नेछिन्। अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी थिइन्। अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी समेत हुन्।

प्रतिक्रिया दिनुहोस्