Flash News

विप्लवद्वारा दलाल पुँजीवादविरुद्ध लड्ने उद्घोष

२६ माघ २०७९, बिहीबार ०२:४७

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दलाल पुँजीवादविरुद्ध लड्ने उद्घोष गरेका छन्।

बुधबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गर्दै विप्लवले सर्वत्र दलाल पुँजीवादको बिगबिगी भएको भन्दै योजना र कार्यक्रम बनाएर अघि बढिने दाबी गरे।

कपिलवस्तुको शिवगढीमा दुई हप्तासम्म बसेको केन्द्रीय समिति, पोलिटब्यूरो र सचिवालय बैठकको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवले दलाल पुँजीवादका विरुद्ध लड्नुको विकल्प नरहेको बताए । गत माघ २ गते देखि १३ गतेसम्म बसेको विभिन्न कमिटीको बैठकका १३ बुँदे निर्णय सार्वजनिक गर्दै  विप्लवले यतिबेला देश अग्रगमन र यथास्थितिवादको संघर्षको चरणमा रहेको जिकिर गरे ।

‘दलाल पुँजीवाद सत्ता र व्यवस्थाका कारण देशमा राजनीतिक अस्थिरता, अराजकता र भूमण्डलिकृत पुँजीवादको हस्तक्षेप बढिरहेको छ । आर्थिक संकट चुँलिदै जाँदा नागरिकहरुको जीवन कष्टकर बन्दै गएको छ’ विप्लवले भने, ‘एकातिर केही सय परिवारको हातमा देशको आधा सम्पत्ति थुप्रिन पुगेको छ भने अर्कोतिर आर्थिक संकट र शोषणले मजदुर किसान मध्यमवर्ग र राष्ट्रिय उद्योगीहरु सडकमा पुग्ने र बिचल्ली बन्ने अवस्था बनिरहेको छ ।’

दलाल पुँजीवादका कारण तराईमा मिटर ब्याजीहरुको अत्याचार, पहाडमा लघुवित्तको शोषण र सहरमा बैंकको चर्को ब्याजका कारण जनता आहात भएको विप्लवले टिप्पणी गरे । तराईका मिटर ब्याजीका विरुद्ध लड्दा आफ्ना दर्जनभन्दा बढी कार्यकर्ता राज्यले पक्राउ गरेको भन्दै विप्लवले आपत्ति जनाए । राज्यले नै सबै क्षेत्रका दलाललाई संरक्षण गरेकाले लड्न कठिन भइरहेको बताए ।

देशमा विचौलियाको चलखेल, शैक्षिक बेरोजगारी र मानव तस्कर र  विदेशी एकाधिकारवादी पुँजीवादको दबदबाले जनता छटपटाई रहेको विप्लवले जिकिर गरे । दलाल पुँजीवादकै कारण भूमण्डलीकृत साम्राज्यवादीहरुको हस्तक्षेपबाट देश नवउपनिवेशको अवस्थामा पुग्न थालेको विश्लेषण उनले सुनाए । संसदवादी दलहरु जनतालाई राहत दिने भन्दा आफ्नो पद, कुर्सी, फाईदा र भागवण्डाको तानातानमा मस्त रहेको विप्लवले आरोप लगाए ।

‘अहिलेको आर्थिक संकट जनचाहना विपरित लादिएको दलाल पुँजीपति वर्गको सत्ता र पुँजीवादी संसदीय व्यवस्थाको अफलताले पैदा भएको संकट हो’ उनले भने, ‘यसको अग्रगामी समाधान वैज्ञानिक समाजवादी सत्ता र व्यवस्था मात्र हो । त्यसका लागि पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको छ । संसदमा रहेका विभिन्न कम्युनिस्ट पार्टी र अन्य राजनीतिक दलहरुसँग राज्य रुपान्तरणका मुद्दाामा बहस गर्दै जानेछौं ।’

शिक्षा, स्वास्थ्य, निजामति, अदालत र सुरक्षा निकायमा मौलाउँदै गएको दलाल पुँजीवादका विरुद्ध कार्यक्रम बनाएर अघि बढिने विप्लवले बताए । राष्ट्रिय स्वाधिनताका विरुद्ध अघि सारिएका एमसीसी, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तीन, महाकाली अतिक्रम र एनसेल कर असुलीविरुद्ध संघर्ष गरिने योजना उनले सुनाए।

अहिलेको संसदीय चुनावबाट उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी राजनीतिक सत्ता र शक्तिको विकल्प हुन नसक्ने विप्लवले बताए। यी दल संसदीय पार्टीहरुको अविश्वासका कारण अस्थायी रुपमा नयाँ शक्तिको रुपमा आएको नेकपाको विश्लेषण छ।

दलाल पुँजीवादकै कारण नेपाली किसानले उत्पादन गर्ने वस्तुले मूल्य नपाउने अवस्था सिर्जना भएको विप्लवले बताए। ‘नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन नेपालकै खेतमा धान फल्नुपर्छ, नेपालका डाँडाकाँडामा फलफूल फल्नुपर्छ। नेपालको हिमालमा स्याउ फल्नुपर्छ’, विदेशीले दुईचार हजार डलर दिँदैमा नाक रगडेर हिँड्न नहुने उनको भनाइ छ।

‘नेपालमा किसानहरूले आलु, साग, काउली लगायतका तरकारी फलाउँछन्। अनि भारतले सस्तोमा क्वारेन्टिन नगरी तरकारी पेलिदिन्छ । जब यहाँ नेपाली किसानको तरकारी बिक्री हुँदैन र फालिन्छ अनि अभाव सिर्जना हुन्छ। त्यसपछि महँगोमा भारतबाट तरकारी ल्याइन्छ । सानो सानो कुराबाट पनि पुँजी पलायन हुन्छ’, महासचिव विप्लवले भने, ‘नेपालमा क्वारेन्टिन नगरेको तरकारी आयात गर्न रोक्नुपर्छ । त्यो काम हाम्रो पार्टीले गर्छ गरिरहेको पनि छ ।’ रातोपाटीबाट 

प्रतिक्रिया दिनुहोस्