Flash News

माओवादी केन्द्रले नाम र चुनाव चिह्न परिवर्तन गर्ने

२६ माघ २०७९, बिहीबार ०९:०२

काठमाडौँ। नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ।

१२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए । जसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो । प्रचण्डले प्रस्तावमा भनेका थिए, ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धासमेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ।’

उनले यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरेका छन्। प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडि सारेका छन्। ‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने,’ उनले प्रस्ताव गरेका छन्, ‘तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने।’

प्रचण्डले आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिँदा माओवादी खुम्चिँदै गएको पनि स्वीकारेका छन्। प्रस्तावमा प्रचण्डले २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा ३१ लाखभन्दा बढी मत पाएको माओवादी २०७९ सालमा ११ लाख ७५ हजारमा खुम्चँदै काठमाडौं उपत्यकामा निल हुनुको कारण खोतल्ने प्रयास गरेका छन्।

‘यसका पछाडि आधारभूत जनता र वर्गसँग हाम्रो सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको छ,’ पार्टी सदस्य बराबर पनि समानुपातिक मत प्राप्त गर्न नसक्नुले संगठनको अवस्थालाई उजागर गरेको प्रचण्डले निष्कर्ष निकालेका छन्।

प्रचण्डले पार्टीका नेताहरूले आफ्नो हैसियत र जिम्मेवारी प्रचारका लागि प्रयोग गरेपनि पार्टीको परिणामका लागि काम नगरेको आरोप लगाएका छन्। ‘हालको संगठनात्मक अवस्था न सदस्यको स्पष्ट नाम र सब्ख्या छ न त दाबी गरेका प्रवेश गरेका विभिन्न कमरेडहरूको पद र तहहरूको स्पष्टता छ। बैठक बस्न गाह्रो छ,’ उनले भनेका छन्, ‘विषयमा छलफल र बहस गरी निष्कर्षमा पुग्न कठिन संरचना, हैसियतलाई प्रचारका लागि उपयोग गरे पनि परिणाममा नजोडिने, जनता र वर्गसँग सम्बन्ध नराख्ने, केन्द्रमुखी प्रवृत्तिको बाहुल्यता भएको अवस्था रहेको छ।’प्रचण्डको यो प्रस्ताव माओवादी स्थायी समिति बैठकले पास गरेपछि माओवादी अब नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ।

हेर्नुहोस् प्रस्ताव-

प्रतिक्रिया दिनुहोस्