Flash News

काठमाडौं महानगरले योग कक्षा चलाउने 

१ माघ २०८०, सोमबार १२:०३

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वस्थ जीवनशैली र निदानात्मक उपचारका लागि योग र खेल कक्षा सञ्चालन गर्ने भएको छ । सोमबार नवौं राष्ट्रिय योग दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले आरोग्य जीवन कार्यक्रमअन्तर्गत महानगरपालिकाले योग र खेल कक्षा सञ्चालन गर्न लागेको बताए । उनले भने, ‘विद्यालयहरुमा अक्षर मात्र सिकाउँदैनौं । योगबाट सुखी हुने सीप पनि सिकाउँछौं । कक्षा संचालनका लागि तयारी तीव्र पारेका छौं ।’

उपचारात्मक स्वास्थ्य सेवाभन्दा निदानात्मक उपचार पद्धतिमा महानगरपालिकाको जोड रहेको बताउँदै उनले ज्ञान र विज्ञानलाई जोड्ने क्षमता योग विधामा रहेकाले यसलाई प्रवर्धन गर्नुपर्ने बताए ।

योगलाई स्वस्थ जीवनका लागि अपरिहार्य साझा सम्पत्तिका रुपमा विकास गर्नुपर्नेमा उनको जोड थियो । सहरबासीमा भएको शारीरिक निष्क्रियतालाई सक्रिय बनाएर नसर्ने रोगबाट बचाउने कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकतामा राखेको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् ।

आयुर्वेदिक र वैकल्पिक उपचार पद्धतिको प्रवर्धन गर्न महानगर स्वर्णीम योजनाअन्तर्गत आरोग्य जीवन कार्यक्रम सञ्चालन भएको उनको भनाइ छ ।

आरोग्य जीवन कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार, वडास्तरीय योग कक्षा सञ्चालनका लागि प्रशिक्षकहरुबाट आवेदन माग गरिसकिएको छ । यसमा करिब ३ सय जनाको आवेदन परेको छ । ‘योग प्रशिक्षण दिने करिब ३ सय वटा केन्द्रको लगत तयार पारिएको छ । जनताको स्वास्थ्य अवस्था र अस्वस्थ हुनुका  कारण खोज्न त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्था र स्वास्थ्य सेवा विभागसँग सम्झौता गरेर अध्ययनको काम थालिएको जानकारी कार्यक्रममा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्