काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- १० राजनीतिक दलले निर्वाचन आयोगद्वारा मस्यौदा गरिएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । राजनीतिक दलहरु, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, नाउपा र आम जनता पार्टीले विहिबार संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले मस्यौदा गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तिमा कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको बताउदै दलहरुले संघीय कानुन दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा छुट्टै ऐनजस्तै कानुन मस्यौदा गरेर निर्वाचन आयोगले संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने प्रयास गरेको हुँदा यसप्रति स्पष्ट असहमति तथा विरोध रहेको बताएका छन् । उनीहरुले बहुदलीय लोकतन्त्रको मर्ममा आघात पुऱ्याउँदै दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने यो प्रवृत्ति अस्वीकार्य रहेको समेत उल्लेख गरेका छन् ।
२- मंगलबार भारतको उत्तरकाशीमा बादल फुटेर आएको बाढीपछि राहत र उद्धार कार्य जारी छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले अहिलेसम्म २७४ जनालाई उद्धार गरिएको जानकारी दिएका छन् । उद्धार टोलीहरूले प्रभावित क्षेत्रहरूमा खोजी कार्य जारी राखेको र अहिलेसम्म दुई जनाको शव फेला परेको छ र घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ उत्तराखण्ड सरकारले जानकारी दिएको छ । घाइतेहरू सबै खतरामुक्त रहेको र अहिलेसम्म मृत्यु र बेपत्ताको संख्या यकिन नभएको बताइएको छ । विभिन्न रिपोर्टमा सय भन्दा बढी बेपत्ता रहेको बताइएपनि राज्य सरकारले अहिलेसम्म आधिकारीक जानकारी दिएको छैन ।
३- सरकार प्रेस स्वतन्त्रता खोस्ने दिशामा अग्रसर भएको भन्दै प्रेस सेन्टर नेपालले गम्भीर आपत्ति जनाएको छ । आमसञ्चारसम्बन्धी छाता ऐन बनाउनुपर्नेमा ३४ वर्ष पुरानो ऐन संशोधनमा लागेर सरकार पश्चगमनतर्फ लम्किएको प्रेस सेन्टरको आरोप छ । बिहीबार प्रेस सेन्टरका महासचिव मनोज घार्तीमगरले विज्ञप्ति जारी गर्दै मिडिया काउन्सिल विधेयकको चौतर्फी विरोध भइरहँदा अनलाइन दर्ताको नयाँ प्रावधान ल्याएर सरकारले प्रेस स्वतन्त्रता र संघीयता कार्यान्वयनमा आफ्नो अनुदारता प्रमाणित गरेको बताएका छन् । सेन्टरले जिल्ला प्रशासन कार्यालयमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण गर्ने व्यवस्थाको भर्त्सना गरेको छ । सरकारको प्रस्तावमा हालै केहीं नेपाल ऐन संशोधनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन संशोधन भएर सूचना तथा प्रशारण विभागबाट हुँदै आएको अनलाइनको दर्ता जिल्ला प्रशासन कार्यालयबाट गर्ने व्यवस्था भएको छ । प्रेस सेन्टरले सरकारले अनलाइनलाई जिल्ला प्रशासनमा लगेर मिडियालाई नियन्त्रण गर्न खोजेको बताएको छ । सेन्टरले सरकारले मिडिया नियन्त्रण गर्न खोजेको, संघीयतालाई अस्वीकार गरेको, प्रदेशको अधिकार खोसेको बताउँदै आमसञ्चारमाध्यमको दर्ता, नवीकरण र नियमनलगातका कामलाई व्यवस्थित गर्न छिटो सञ्चारसम्बन्धी छाता ऐन निर्माण गर्न आग्रह गरेको छ । सेन्टरले छापामाध्यम जस्तै अनलाइनको पनि हरेक वर्ष नवीकरण गर्न नपर्ने व्यवस्था गर्न माग गरेको छ ।
४- नेपालले वैदेशिक बजारमा विद्युत् निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो । नेपाल विद्युत् प्राधिकरणले आ.व. २०८१/०८२को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको हो । निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो ।
५- आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से विहिबार १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
६- आइतबार बागमती प्रदेशमा सार्बजनिक बिदा हुने भएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार प्रदेश भरि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
७- मोरङको कटहरी गाउँपालिकामा रङ्गेली सडक हुलाकी राजमार्गमा आम जनताले सडकमा धन रोपेका छन् । वर्षौँदेखि निर्माणाधीन हुलाकी राजमार्गको काम अलपत्र परेपछि मोरङको कटहरी गाउँपालिकाका बासिन्दाले सडकमै धान रोपेर विरोध प्रदर्शन गरेका छन्। ६ वर्षमा केवल २७ प्रतिशत मात्र काम भएको र वर्षायाममा हिलाम्मे र खाल्डाखुल्डीले भरिएको सडकमा बिहीबार सांकेतिक रूपमा रोपाइँ गरी स्थानीयले आफ्नो आक्रोश पोखेका हुन् । कटहरी गाउँपालिका-३ स्थित कटहरी चोकमा बिहान स्थानीयहरूले एक घण्टा सडक अवरुद्ध गरी विरोध कार्यक्रम गरेका थिए । स्थानीयले आफुहरुले स्थानीय सरकारलाई पटक पटक भन्दा पनि सडकको मर्मत नगरेको भन्दै आफुहरुले प्रशासनको ध्यानकेन्द्रित गर्न विरोधस्वरूप धान रोपेको बताएका छन् ।
८- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिए ।
९- दाङको लमही-घोराही सडकखण्ड अन्तरगत पर्ने मसोट खोलामा डाईभर्सन निर्माण गरेर यातायात सुचारु गरिएको छ । मसोट खोलाको पुल जिर्ण भएपछि शुक्रबार साँझसम्म सवारी साधन बाँध गरेर निर्माणको काम भइरहेको छ । लमही-अमिलिया-तुलसीपुर-घोराही सम्मको बैकल्पिक बाटो टाढा पर्ने र यात्रुलाई सास्ती हुने भएपछि पुलकै किनारबाट डाइभर्सन गरि बैकल्पिक सडक सुचारु गरिएको प्रहरीले जनाएको छ । पुलको मर्मतका लागि बुधबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म दुई पाङग्रे सवारी बाहेक अन्य सवारी साधनहरुको लागि बाटो पुर्ण रुपले बन्द गरिएको छ ।
१०- नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) का सभापति रबि लामिछानेलाई भेट गरेका छन् । लुम्बिनी प्रदेश स्तरीय दुई दिने बिस्तारित बैठकमा भाग लिन जाने क्रममा आज डा. भट्टराईले आज भैरहवा कारागार पुगेर लामिछानेलाई भेट गरेका हुन् । भेटपछि डा. भट्टराईले कारागार बाहिर बसेर मुद्धा लड्न पाउनु पर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले भने- अहिले न्यायिक हिरासतमा उहाँ हो, उहाँ जस्तो मान्छेलाई अदालतले नै ब्याख्या गरेकाले म टिप्पणी गर्न चाहन्छ । कोहि मान्छे भाग्छकी भनेर न्यायिक हिरासतमा राख्ने हो । तर राजनीतिक जनताको प्रतिनिधिको रुपमा रहेको मान्छे भागेर पनि सुख पाउदैन । जमानतमा बाहिर रहेर मुद्धा फेस गर्नुपर्ने यो व्यवस्था गर्नुपर्छ भन्ने हो ।’
११- एएफसी यू–१७ एसियन महिला कप छनोटमा नेपाल समूह एफ मा परेको छ । बिहीबार भएको ड्र मा नेपाल थाइल्यान्ड र तुर्कमेनिस्तानसँगै समुह एफ मा परेको हो । चीनमा आयोजना हुने यू–१७ एसियन महिला कपको छनौट हुन लागेको हो । नेपालको समुहको खेल थाइल्याण्डमा हुने छ । छनोट प्रतियोगिता आगामी अक्टोबर १३ देखि १७ सम्म सञ्चालन हुने छ । एएफसी यू–१७ एसियन महिला कपमा दक्षिण कोरिया, जापान, उत्तर कोरिया र चीनले स्थान बनाइसकेको छन् ।
१२- प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् । तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच साइडलाइन भेट भएको हो ।
१३- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार रास्वपाले उम्मेदवार बन्न आवेदन दिएकाको सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएका छन्। जसमा पार्थिवेन्द्र उपाध्याय, शुलभ खरेल, डा. लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् । रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो । दर्ता भएका उम्मेदवारीमाथि शुक्रबार बिहान १० बजेदेखि शनिबार ५ बजेसम्म दाबी विरोध गर्न सक्ने रास्वपाले जनाएको छ ।
१४- भारतको जम्मू कश्मीरको उधमपुरमा दुर्घटना हुदा केन्द्रीय रिजर्भ पुलिस बलका तीन सैनिकको मृत्यु भएको छ । दुर्घटनामा १५ सैनिक घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) को १८७औं बटालियनको बस उधमपुर जिल्लाको कडवाबाट बसन्त गढ जाँदै गर्दा लगभग २०० फिट गहिरो खाल्डोमा खसेको बताइएको छ । विहिबार बिहान दुर्घटना भएको बसमा कुल १८ सैनिक रहेका थिए ।
१५- गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने बताएका छन् । बिहिबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उहाँले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त गर्ने बताएका हुन् । उनले भने- ‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्व सूचना बाहिर छ । २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ । उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउदै त्यसमा नेपाल पनि रहेको बताए ।
१६- दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सन अमेरिकन मेजर लिग सकर क्लब लस एन्जल्स फुटबल क्लबमा आवद्ध भएका छन् । सन प्रिमियर लिग क्लब टोटनह्याम छोडेर अमेरिकन लिगमा पुगेका हुन् । लस एन्जल्सले सनलाई २६.५ मिलियन डलरमा टोटनह्यामबाट किनेको हो । सनले लस एन्जल्ससँग २०२७ सम्मको सम्झौता गरेका छन् भने उनी थप दुई बर्ष सम्झौता नवीकरण गर्न सक्ने विकल्पमा सहमत भएका छन् । सन २०१५ मा जर्मनी क्लब बायर लिभरकुसनबाट टोटनह्याम आएका थिए । ३३ बर्षिय सनले टोटनह्यामका लागि अहिलेसम्म ४५४ खेल खेल्दै १७३ गोल गरेका छन् । उनले टोटनह्याममा २०२४-२५ को युरोपा लिग जितेका थिए भने २०१८-१९ को च्याम्पियन्स लिगको उपविजेता बनेका थिए ।
१७- राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुनैपनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु गलत भएको बताएका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको उल्लेख गर्दै यसलाई तत्काल रोकिनुपर्ने बताएका हुन् ।
१८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै थुनामुक्तिका लागि अदालतमा निवेदन दिएका छन् । लामिछानेले साउन १९ रूपन्देही जिल्ला अदालतमा निवेदन दिदै बैंक जमानतमा रिहा गर्न अनुरोध गरेका हुन् । यसअघि जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, उच्च अदालतले आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो । अब यो मुद्दा रूपन्देही जिल्ला अदालतबाटै टुंगीनुपर्ने अन्तिम विकल्प रहेको छ । यस अवस्थामा लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम थुनामुक्त गर्न आग्रह गरेका छन् । दफा ६८ मा ‘अदालतले धरौट, जमानत वा बैंक जमानत लिई तारिखमा राख्न सक्ने’ व्यवस्था अनुसार उनले निवेदन दिएका हुन् । त्यस्तै, दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि जमानतमा राख्न सकिने व्यवस्था छ ।
१९- इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा पुगेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले पुमाज युएनएएमलाई ३-१ गोल अन्तरले पराजित गरेर लिग कपको क्वाटरफाइनलमा पुगेको हो । लियोनेल मेसी बिना खेलेको इन्टर मियामीको जितमा रोड्रीगो डी पाउल, लुइस स्वरेज र टाडेओ अल्लेन्डले एक एक गोल गरेका थिए । त्यस्तै पुमाज युएनएएमले जर्ज रुभालकाबाले एक गोल गरेका थिए ।
२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको विषयमा अझै धेरै कुरा हुन बाँकी रहेको टिप्पणी गरेका छन् । भारतमाथि २५ प्रतिशत थप कर लगाउने घोषणा गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै ट्रम्पले भारतमाथि अन्य प्रतिबन्ध लगाउने संकेत गरेका हुन् । ह्वाइट हाउसको पत्रकार सम्मेलनमा, ट्रम्पलाई सोधिएको थियो, चीन लगायत धेरै देशहरूले रूसबाट तेल किनिरहेका छन्, त्यसो भए भारतलाई किन निशाना बनाइँदैछ ? यसको जवाफमा ट्रम्पले भने, ‘केवल ८ घण्टा भएको छ । हेरौं अब के हुन्छ । तपाईंले धेरै कुराहरू हेर्न पाउनुहुनेछ । धेरै थप प्रतिबन्धहरू पनि देख्न सकिन्छ ।’