Flash News

मन्त्रीले औंला ठड्याउने दिन सकियो : कानुनमन्त्री गुरुङ

२ माघ २०८०, मंगलवार १४:३५

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सुटुक्क कानुन बनाउने र दोहोरोपना हुने प्रवृत्ति रोक्न प्रस्तावित ऐनका लागि ल्याइएको विधेयक छलफलका निम्ति संसदीय समितिमा पुगेपछि अनधिकृत कसैले पनि हस्तक्षेप गर्न नसक्ने बताएका छन् ।

संसद्को विधायन व्यवस्थापन समितिमा मंगलबार विधायन सम्बन्धी विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन् । ‘यो सम्पत्ति समितिको भइसकेपछि यसलाई कसरी जोगाएर आफ्नो बनाउने भन्ने कुरा समितिको हातमा हुने कुरा हो । मन्त्रीले के गर्ने भनेर औंला ठड्याउने दिन सकिइसक्यो । मैले त हेर्ने मात्रै हो,’ उनले भने, ‘त्यसकारण सदस्यहरुले यसलाई कसरी राम्रो बनाउने भन्ने कुरा आजैको मितिदेखि चिन्ता, चिन्तन गर्नुभयो भने निश्चित रुपमा अगाडि बढेर जान्छ । सवालजवाफमा मात्र अड्किनु हुँदैन ।’

कानुनमा दोहोरोपना हटाउन र सरोकारवालासँग परामर्शविनै सुटुक्क कानुन ल्याउने परिपाटी रोक्न ल्याइएको विधेयकलाई छलफल गरेर जाने हो भने अझ राम्रो बनाउन सकिने उनले बताए ।

‘तत्कालको अवस्था, संशोधनको प्रस्ताव राखेको अवस्था, सबैलाई जति छलफल ग¥यो त्यति राम्रो हुँदै जाने हो । आगामी दिनमा हरेक दफामा एक–एक गरेर जाने र आवश्यक परेका विषयहरु थप्दै परिमार्जन गर्दै जानुपर्छ,’उनले भने ।

छफलका लागि आइपुगेको विधेयकलाई उपयोगी बनाउन समितिले आफ्नो तर्फबाट गम्भीर भएर लाग्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्