विश्व प्रेस

सामान चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले दिइन् राजिनामा

३ माघ २०८०, बुधबार ०७:१६

 

काठमाडौं । न्यूजिल्याण्डकी एक सांसदले पदबाट राजिनामा दिएकी छिन् । ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमनमाथि पसलबाट सामान चोरेको आरोप लागेपछि उनले राजिनामा दिएकी हुन् । प्रहरीले उक्त घटनाको छानविन भइरहेको जनाएको छ ।

सांसद गाहरमनमाथि दुई कपडा पसलमा तीन पटक सामान चोरी गरेको आरोप लागेको थियो । यी मध्ये एउटा पसल अकल्याण्डमा र अर्को वेलिंगटनमा अवस्थित छन् ।

मंगलबार सीसीटीभी फुटेज सार्वजनिक भएपछि उनको राजीनामा आएको हो । सीसीटीभी फुटेजमा,उनले अकल्याण्ड बुटीकबाट डिजाइनर ह्यान्डब्याग लिएको सार्वजनिक भएको थियो ।

संयुक्त राष्ट्र संघका पूर्व मानवअधिकार अधिवक्ता समेत रहेकी गाहरमनले सन् २०१७ को संसदीय निर्वाचन जितेर इतिहास रचेकि थिइन् । उनी न्युजिल्याण्डको संसदमा निर्वाचित पहिलो शरणार्थी थिइन् । उनले एकपटक आफ्नो पार्टीको न्याय विभाग पनि सम्हालिसकेकी छिन् ।

गाहरमन बाल्यकालमा परिवारसहित इरानबाट त्यहाँ पुगेकी हुन् । उनको परिवारलाई न्यूजिल्याण्डमा राजनीतिक शरण दिइएको थियो ।

हालै गाहरमन प्यालेस्टाइन समर्थक आन्दोलनमा सहभागी भएकी थिइन् । ग्रीन पार्टीको विदेश मामिला र मानव अधिकार प्रवक्ताको रूपमा, उनले गाजामा हमास विरुद्धको युद्धमा इजरायलको सैन्य कारबाहीको पनि निन्दा गर्दै आएकी थिइन् । यसका लागि उनले चर्को आलोचना पनि बेहोर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्