Flash News

सुर्खेतमा भाडामा लगाएका पार्टी कार्यालय खाली गराइँदै

२७ माघ २०७९, शुक्रबार ०२:१३

सुर्खेत। सुर्खेतको नगर विकास समितिले आफू मातहतको जग्गाको खोजी र संरक्षण सुरु गरेको छ।

पहिलो चरणमा नगर विकास समितिको नाममा रहेको जग्गाको अवस्था पहिचान गरी उपयोगको वास्तविक स्थिति सहितको प्रतिवेदन तयार गरिने अध्यक्ष तथा वीरेन्द्रनगर नगरपालिकाकी मेयर ढकालले जानकारी दिएन्।

त्यसलगत्तै प्रतिवेदनका आधारमा अतिक्रमण हटाउने नगर विकास समितिले निर्णय समेत गरेको छ। ‘नगर विकास समितिको पहिलेको नेतृत्वले मनोमानी ढंगले जग्गा वितरण गरेको देखिन्छ, हामी छानबिन गरेर निर्ममताका साथ अतिक्रमण हटाउँछौं’, मेयर ढकालले अनलाइनखबरसँग भनिन्।

मेयर ढकालका अनुसार अतिक्रमित जग्गा हटाउने अभियान सबैभन्दा पहिला राजनीतिक दलहरुको पार्टी कार्यालयमा रहेका सटरबाट सुरु गरिएको छ। विभिन्न दलले नगर विकास समितिको जग्गामा बनेका पार्टी कार्यालय व्यवसायिक रुपमा सटर भाडामा लगाउँदै आएका छन्। त्यसलाई हटाउन निर्देशन दिने मंगलबार बसेको नगर विकास समितीको बैठकले निर्णय गरेको छ।

‘जुन प्रयोजनका लागि लिइएको हो, त्यसमै प्रयोग गर्नुपर्छ। पार्टी कार्यालयहरु व्यावसायिक कम्प्लेक्स बनाउन मिल्दैन’, नगर विकास समितिको अध्यक्ष समेत रहेकी ढकालले भनिन्, ‘त्यसको सुरुवात पार्टी कार्यालयका सटरबाट गरेका छौं। विस्तारै सबैतिर गर्छौं।’ दलहरुलाई ३५ दिने म्यादसहित सूचना दिएर भाडामा दिइएका व्यवसायिक सटर खाली गराउन पत्राचार गरिने छ।

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले पार्टी कार्यालयमा बनेका सटरबाट भाडा उठाइरहेका छन्। एमालेले ८ वटा र माओवादी केन्द्र र २ वटा सटर व्यवसायिक प्रयोजनका लागि भाडामा दिँदै आएको छ।

वीरेन्द्रनगरमा उपत्यका नगर विकास र जिल्ला समन्वय समितिका नाममा रहेको जग्गामा वषौंदेखि व्यक्तिले आफूखुशी संरचना बनाएर प्रयोग गर्दै आएका छन्। सरकारी जग्गा भाडामा लगाउने विषयलाई निरुत्साहित गर्दै सार्वजनिक उपयोग र प्रयोगमा जोड दिइने नगरपालिकाको योजना रहेको मेयर ढकालले बताइन्।

प्रतिक्रिया दिनुहोस्