काठमाडौं । स्वीडेनलाई उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो )सदस्य राष्ट्र बन्न बाटो खुला भएको छ । सदस्यताका लागि स्विडेनले गरेको प्रस्ताव टर्कीको संसदले मंगलबार अनुमोदन गरेको छ । टर्कीको संसदले स्वीडेनको नेटो सदस्यता प्रस्तावलाई २८७ मतले अनुमोदन गरेको हो ।
स्वीडेनको नेटो सदस्यता प्रस्तावलाई संसदमा लामो समय छलफल गरेपछि मतदान गर्नेे क्रममा चार जना सांसद अनुपस्थित थिए भने ५५ जनाले प्रस्तावको विपक्षमा मतदान गरे ।
स्वीडेनले सन् २०२२ मा नाटो सदस्यताका लागि आवेदन दिएको थियो । रुसले युक्रेनमा आक्रमण गरेपछि स्वीडेनले यो निर्णय लिएको थियो ।
टर्कीको संसदमा राष्ट्रपति तैयप एर्दोगानको सत्तारुढ गठबन्धनको बहुमत छ । उनले आवेदन स्वीकृत गर्न मतदान गरेका थिए । यद्यपि,टर्कीको निर्णयले केही पश्चिमी सहयोगीहरूलाई निराश बनाएको छ ।
स्वीडेनको पक्षमा मतदान गर्नुअघि टर्कीको संसदमा चार घण्टाभन्दा बढी बहस भएको थियो । सो क्रममा टर्की संसदको विदेश मामिला आयोगका प्रमुख तथा सत्तारुढ एके पार्टीका सदस्य फुआत ओक्तेले एक वक्तव्य दिएका थिए । उनले गठबन्धनको प्रतिरोधात्मक प्रयासलाई सुधार गर्न नेटोको विस्तारलाई समर्थन गर्ने बताए । ‘हामी आशा गर्छौं कि फिनल्याण्ड र स्वीडेनको आतंकवादसँग लड्ने दृष्टिकोणले हाम्रा अन्य सहयोगीहरूका लागि उदाहरणको रूपमा काम गर्नेछ,’यसपछि स्वीडेनको नेटो सदस्यता प्रस्ताव स्वीकृत भयो ।
स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले मतदानपछि स्टकहोम गठबन्धनमा सामेल हुन “एक कदम नजीक“ भएको बताएका छन् । टर्कीले यसअघि गत वर्ष अप्रिलमा फिनल्याण्डको सदस्यतालाई समर्थन गरेको थियो तर हंगेरीसँगै स्वीडेनलाई प्रतीक्षा सूचीमा राखेको थियो ।
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले मंगलबार क्रिस्टर्सनलाई आफ्नो देशलाई सैन्य गठबन्धनमा समावेश गर्ने विषयमा वार्ता गर्न निम्तो दिएको बताएका छन्। फिनल्याण्ड गत अप्रिलमा गठबन्धनको ३१ औं सदस्य बनेको थियो । स्वीडेन ३२ औं सदस्य राष्ट्र हुने तय छ ।
उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो एउटा सैन्य गठबन्धन हो जुन सन् १९४९ मा १२ देश मिलेर गठन गरेका थिए। ती देशमा बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटली, लक्जेमबर्ग, द नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, यूके र अमेरिका रहेका थिए।
नेटोमा आबद्धतापछि कुनै एक सदस्य राष्ट्रविरुद्ध सशस्त्र हमला भए एकअर्काको सहायता गर्ने सहमति यी सदस्य राष्ट्रहरूले गरेका हुन्छन् ।