Flash News

हिउँदे अधिवेशनमा नेपालभित्र नेपाल खोज्छौं : सांसद भण्डारी

२२ माघ २०८०, सोमबार १३:१७

काठमाडौं । कांग्रेस सांसद चन्द्र भण्डारीले हिउँदे अधिवेशनमा संसदले विकास निर्माणमा नेपालभित्र नेपाल र कानून निर्माणमा नेपालभित्र नेपाली खोज्नेगरि प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् । हिउँदे अधिवेशनका लागि सोमबार संघीय संसद भवन पुगेका उनले बैठकपछि अबको संसदले कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

‘यो अधिवेशनमा हामीले नेपालभित्र नेपाली खोज्नु छ । वास्तवमा नेपालको भूगोल, समाज र संस्कृतिअनुसार हामीले कानुन निर्माण गर्नुपर्ने छ । जहाँ अनाहकमा मानिसहरु थुनिनु भएन, पुरस्कृत हुनु भएन र हाम्रो कानुनले ठूलाबडाहरुसित गलत प्रवृतिका व्यक्तिहरुसित आत्मसमर्पण नगरोस् भन्ने कुरामा सचेत भएर हामीले कानुन बनाउँछौं ।’

त्यस्तै उनले अबको अधिवेशमा सांसदहरु विकास केन्द्रीत हुने गरी छलफल र नीति निर्माणको लागि तयार भएको उल्लेख गरे । नेपालभित्र नै नेपाल खोजेर विकास निर्माणका हिसावले अगाडि बढ्ने उनको भनाइ छ ।  ‘यो अधिवेशनमा हामी कानुनमा मात्र सीमित हुँदैनौ । अब हामीले विकास निर्माणका समीक्षा गछौं । विगतको बजेटले के काम गर्यो र के गर्न सकेन यसमा हामीले नेपालभित्र नेपाल खोज्छौं यो अधिवेशनमा,’ सांसद भण्डारीले भने ।

बाँसबारी छाला जुत्ता जग्गा हिनामिना प्रकरणमा उद्योगपति अरुण चौधरी पक्राउ प्रकरणबारे भने भण्डारीले मिडियाको हेडलाइनको पछि लाग्नु नहुने भन्दै टिप्पणी गरे । उनले भने, ‘बाहिर कसले के भन्छ भनेर हिँड्नुको कुनै अर्थ छैन । यहाँ कोही पत्रकार छैनन् सबै सम्पादक छन्, कसरी समाचार बिक्री हुन्छ भनेर हेडिङ बनाइदिन्छन् । तर, जसले मुलुकलाई घाटा लाग्ने, ठग्ने, शक्तिको दुरुपयोग जसले गर्छ उसलाई कानुनी कारबाही हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्