Flash News

समाजवादको भविष्यमाथि बुद्धिजीवी परिषद्को संवाद

२४ माघ २०८०, बुधबार १३:२३

काठमाडौं ।  एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्ले विश्व सामाजिक फोरममा ‘समाजवादको भविष्य : समृद्ध समाजवाद’ विषयक संवाद कार्यक्रम गर्ने भएको छ । आगामी फागुन ३ गते हुने संवाद हुने परिषद्ले बुधबार राजधानीमा आयोजित कार्यक्रममा जनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अन्य पार्टीका शीर्ष नेताहरुलाई वक्ताका रुपमा आमन्त्रण गरिने परिषद्का अध्यक्ष प्राध्यापक डा. दीनेशचन्द्र देवकोटाले बताए ।उनले भने, ‘नेपाल बुद्धिजीवी परिषद्ले वल्र्ड सोसियल फोरममा ‘समाजवादको भविष्य ः समाजवामाथि प्रहार’ विषय साइड इभेन्ट गर्दै छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने छ । वक्ताको रुपमा अन्य दलका नेताहरुलाई राख्न शीर्ष तहमा छलफल जारी राखेका छौं ।’

कार्यक्रममा माक्र्सवादी दृष्टिकोण राख्ने वामपन्थी वुद्धिजीवीहरु राखेर अहिले आक्रान्त बनिरहेको समाजवाद र पुँजीवादलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल हुने अध्यक्ष देवकोटाले बताए । एमालेले अंगीकार गरेको जबज (जनताको बहुदलीय जनवाद) लाई थप परिष्कृत बनाइ समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाइ छ ।

एमाले सांसद विद्या भट्टराईले पुँजीवादमाथिको संकटले सिंगो मुलुकलाई नै समस्यामा पारेको बताउँदै अहिले लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको बताइन् । उनले भनिन्, ‘आज पुँजीवाद संकटमा छ । त्यो पुँजीवादको संकटले सिंगो मुलुकलाई पनि संकटमा परेको छ । हिजोसम्म हामीले भन्थ्यौं गणतन्त्र उत्कृष्ट व्यवस्था हो, गणतन्त्रले समाजलाई बदल्न सक्छ भन्यौ । तर, आज त्यही गणतन्त्रमाथि थुप्रै प्रश्नहरु उठिरहेका छन् ।’ हरेक व्यवस्थामा प्रश्न उठ्ने भए पनि उत्तर दिन सक्ने व्यवस्था नभएपछि मुलुक संकटमा जाने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्