Flash News

एमालेलाई सुदूरपश्चिमबाट धक्का दिन सुरु गर्‍यौं: अध्यक्ष नेपाल

२८ माघ २०७९, शनिबार १३:३९

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई सुदूरपश्चिमबाट धक्का दिएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीको केही काम छैन भनेको प्रसंग सम्झिँदै सुदूरपश्चिमबाट एमालेलाई नै धक्का दिएको बताएका हुन्।

‘सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ ? एउटा नेपाली काँग्रेस, अर्को (एकीकृत समाजवादी) छ। यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ ? ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो सुरुवात हो’ उनले भने।

सुदूरपश्चिममा २७ पुसमा मुख्यमन्त्री बनेका राजेन्द्र रावल विश्वासको मत नपाएपछि बिहीबार पदमुक्त भएका थिए। अहिले नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री भएका छन् र नेकपा एकीकृत समाजवादीका नरेश शाही पनि मन्त्री भएका छन्। एमालेले धेरै नेतालाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमाले नेताहरु दंग परेको एकीकृत समाजवादीका अध्यक्ष नेपालले दावी गरे।

‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरु म राष्ट्रपति हुने हो भनेर दंग परेका छन्। किनभने दंग पारिएको छ’ उनले भने, ‘सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालेँ भन्ने परिरहेको छ । को को सेन्टिफ्ल्याट खाने हो थाहा छैन।’

प्रतिक्रिया दिनुहोस्