Flash News

‘मुलुकको समृद्धिका लागि सबै दलबीच सहमति आवश्यक’

३ फाल्गुन २०८०, बिहीबार ११:३८

विराटनगर । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकको समृद्धि र आर्थिक विकासका लागि दलहरुबीच सहमति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकको राज्य व्यवस्था र संघीयताका विरोधमा गलत प्रचार गरेर कतिपय मानिसहरूले मौकाको फाइदा उठाउन खोजिरहेको भन्दै त्यसका विरुद्ध दलहरू एक हुनुपर्ने बताएका हुन् । आफ्नो स्वार्थ र फाइदाका लागि गलत प्रचार गर्नेहरुको चाहना कहिले पनि पूरा नहुने उनले बताए ।

मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न लाग्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो । संसद्ले आफ्नो कार्यविधिभित्र रहेर मुलुकको आर्थिक स्थितिका बारेमा सर्वेक्षण गर्ने र कस्ता योजना बनाउनुपर्छ भन्ने विषयमा काम गर्ने उनले उल्लेख गरे ।

सभामुख घिमिरेले संसद्को अधिवेशन भर्खरै शुरु भएकाले एक वर्षको अनुभवसहित यसलाई गतिशिल बनाएर लैजान प्रतिबद्ध रहेको बताए । संसदमा छलफलका लागि बिजनेसको खाँचो नरहेको र कतिपय बिजनेस समितिको छलफलमा रहेकाले समितिमा टुङ्गिएपछि त्यस्तो बिजनेस संसदमा आउने घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्