Flash News

मिटरब्याजपीडित र सरकारबीच औपचारिक वार्ता सुरु

१४ फाल्गुन २०८०, सोमबार ०२:३०

काठमाडौं । आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच आइतबारदेखि औपचारिक वार्ता सुरू भएको छ । २५ दिनदेखि पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूले शुक्रबारदेखि काठमाडौंमा पनि विरोध प्रदर्शन गरिरहेका छन् ।

उनीहरूका मागबारे सुनुवाई गर्न गृह मन्त्रालयले आइतबार रुद्रप्रसाद पण्डितको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरी मिटरब्याजपीडितहरुलाई वार्ताका लागि बोलाएको थियो । आइतबार बेलुकादेखि नै सरकार र मिटरब्याजपीडितहरुबीच औपचारिक वार्ता सुरु भएको मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका संयोजक अवधेश कुशवाहाले जानकारी दिए ।

सरकारले वार्ताका लागि आव्हान गरेपछि पीडितहरुले पनि बार्ता कुशवाहाकै संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा अंकित खनाल, आदित्य राम, मोहन महत्तो, शिवशंकर महतो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा र राजाराज यादव रहेका छन् ।

समितिका संयोजक कुशवाहाले आइतबार साँझ ७ बजेदेखि करिब डेढ घण्टा छलफल भएको र सोमबार विहान ११ बजेदेखि फेरि वार्ता गर्ने तयारी रहेको बताए । पीडितहरुले न्यायिक छानविन आयोग गठन गरेर मिटरब्याजी साहुहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । सरकारी वार्ता टोलीले भने सरकारले यसअघि नै आयोग बनाएर काम गरेको र त्यसअनुसारका बाँकी काम अब प्रशासन र प्रहरीले जिम्मा लिएको बताएका थिए ।

१६ माघमा पूर्वको झापा र पश्चिमको कन्चनपुरबाट एकसाथ पैदल मार्च थालेका पीडितहरुले २४ दिन पैदल हिँडेर काठमाडौं आएपछि शुक्रबारदेखि न्यायको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्