Flash News

सुरक्षामाथि गम्भीर प्रश्न: संसद् भवनमा पसे आन्दोलनकारी

१५ फाल्गुन २०८०, मंगलवार ०३:०८

काठमाडौँ। नयाँ बानेश्वरस्थित संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको घटनामा प्रहरी प्रधान कार्यालय झन्डै दुई दर्जन हाराहारीमा प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरी विशेष कार्यदलका दुई दर्जन प्रहरीलाई फिर्ता बोलाइएको हो।

उनीहरूलाई संसद् भवनको सुरक्षा जिम्मेवारीबाट हटाएर कपनस्थित कार्यदलको कार्यालयमा फिर्ता बोलाइएको छ। ‘अवधि पनि पुगेको थियो। अहिले यो घटना पनि हुन पुग्यो। दुई दर्जन जति प्रहरी कर्मचारीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भइसकेको छ’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए।

सोमबार दिउँसो लघुवित्त पीडित आन्दोलनकारीहरू एकाएक संसद् भवन छिरेर प्रदर्शन गरेका थिए। उनीहरू दुई नम्बर गेटबाट प्रवेश गरेर प्रदर्शन गरेका हुन्। यस मामिलामा गृहमन्त्रीसमेत असन्तुष्ट बन्दै सुरक्षा निकायका प्रमुखहरूसँग चासो राखेका छन्।

प्रतिक्रिया दिनुहोस्