Flash News

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने

२९ माघ २०७९, आईतवार ०७:४५

काठमाडौं। सरकार विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न तयार देखिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा खाली गराइएको सडकमा निस्किएको भन्दै ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेपछि आन्दोलनरत चिकित्सकसँगको वार्तामा सरकारी टोली कार्यविधि परिमार्जनका लागि तयार भएको हो ।

सहमति पत्रको चार नम्बर बुँदामा बिरामी, आम नागरिक, विशेष गरी स्वास्थ्य संस्था, विद्यालय लगायतका संवेदनशील संस्था तथा क्षेत्रहरुमा असहज नहुने गरी कार्यविधि परिमार्जन गर्न सरकारलाई एकहप्ताभित्र सुझाव पेश गर्ने उल्लेख छ । उक्त सुझावलाई सरकारले यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि लेखिएको छ ।

भीभीआईपीको सवारीको क्रममा अरुलाई सडकमा निस्किनसमेत रोक लगाएर दुःख दिने गरिएको आवाज पनि चर्को रुपमा उठ्दै आएको छ ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गरेर शितल निवास फर्किंदै गर्दा प्रहरीले खाली गराएको सडकमा हिँडेको भन्दै ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंहमाथि प्रहरीहरु जाइलागेका थिए । त्यसको विरोधमा नेपाल चिकित्सक संघले शनिबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको थियो । यसैक्रममा आज बिहानभर ओपीडी सेवा बन्द गरिएको थियो । लगत्तै आज बिहान प्रधानमन्त्री कार्यालयमा वार्ता भएको थियो ।

वार्तामा ६ बुँदे सहमति भएको छ । चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न सरकारलाई सुझाव दिने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमतिपत्रमा उल्लेख छ ।

सरकारको तर्फबाट वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले गरेका थिए । यसैगरी चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोली सहभागी थियो ।

हेर्नुहोस् सहमति पत्र :

प्रतिक्रिया दिनुहोस्