काठमाडौं । यसैवर्ष अमेरिकामा हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीमा उम्मेदवार छनोटको प्रक्रिया चलिरहेको छ । उता, डेमोक्र्याटबाट वर्तमान राष्ट्रपति जो बाइडन नै उम्मेदवार बन्ने पक्का छ ।
रिपब्लिकन पार्टीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र निक्की हेलीबीच स्पर्धामा छन् । हेली भन्दा ट्रम्प पार्टीको प्राइमरी इलेक्सनको प्रतिस्पर्धामा धेरै अगाडि छन् । तर पनि हेलीले अझैंसम्म चुनावी अभियानलाई जारी राखेकी छिन् ।
यसबीचमा हेलीले रिपब्लिकन पार्टीबाट टिकट नपाए स्वतन्त्र उम्मेदवार बन्ने चर्चा चलेको थियो । तर, हेलीले यो हल्लालाई खारेज गरेकी छिन् । उनले आफू जहिले पनि रिपब्लिकन पार्टीको कार्यकर्ता भएको र आउँदो चुनावमा निर्दलीय (स्वतन्त्र) उम्मेदवार हुने कुनै सम्भावना नभएको पनि बताइन् ।
वासिङ्टन डिसीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै निक्की हेलीले भनिन्, ‘मैले कहिल्यै स्वतन्त्र उम्मेदवार बन्ने कुरा गरिनँ । म हृदयमा रिपब्लिकन नेता हुँ ।’
उनी पार्टीको प्राइमरी इलेक्सनमा अर्का उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा निकै पछाडि परे पनि आफूले हौसला नहारेको उल्लेख गरेकी छन् । प्राइमरी इलेक्सनमा ट्रम्प अगाडि भएपनि हेलीले मैदान नछोड्ने बताइन् ।
‘जब म राष्ट्रपतिको लागि दौडिएकी थिएँ, त्यहाँ १४ जना प्रतिस्पर्धी थिए र मैले १२ जनालाई हराएकी थिएँ । अब मैले अझै एक जनालाई हराउनु छ ।’
रिपब्लिकन उम्मेदवार बन्ने दौडमा ५१ वर्षीय हेलीले पूर्वराष्ट्रपति ७७ वर्षीय डोनाल्ड ट्रम्प सँग प्रतिस्पर्धा गर्दै आएकी छन् तर, उनले अहिलेसम्म एउटा पनि प्राइमरी चुनाव जित्न सकेकी छैनन् ।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा हेली ट्रम्प भन्दा ६४ अंकले पछाडि छिन् । निक्की हेलीले डोनाल्ड ट्रम्पलाई निशाना बनाएर ट्रम्पको शासनकालको चार वर्ष थप अराजकता सहन नसक्ने बताउँदै आएकी छिन् ।