Flash News

जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति: प्रधानमन्त्री दाहाल

१ फाल्गुन २०७९, सोमबार ०५:०१

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन्।

सोमवार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताएका हुन्।

उनले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रूपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गरे । उनले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताए । उनले भने, ‘यस पटक सरकारको नेतृत्व गर्नुलाई मैले चुनौतीपूर्ण अवसरको रूपमा लिएको छु । हामीलाई असफल हुने बिलकुलै छुट छैन । हामीले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नु नै पर्नेछ । यसरी मात्रै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई ठिक ढंगले कार्यान्वयन गर्न सकिन्छ।

केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौँ कोणबाट प्रश्न उठाउने कोसिसहरू भइरहेका छन् । यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले यसको औचित्य सिद्ध गर्न दृढताकासाथ अघि बढ्नुको कुनै विकल्प छैन । मैले त्यही ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट हिजो मन्त्रीपरिषद्बाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन नेपाल राष्ट्रकै सम्पत्ति भयो । आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो । यसलाई ठिक ढंगले निभाउने जिम्मेवारी हाम्रै हो । यसै प्रक्रियाबाट सुशासन र विकासको नयाँ अभियानतिर लैजाने आवश्यकता छ ।’

‘हामीले अब फेरि एक पटक नयाँ सङ्कल्पसहित अघि जानुछ । म यस ऐतिहासिक दिनमा र नेपाल सरकारबाट भएको निर्णयका सन्दर्भमा पनि सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई पनि अब एकताबद्ध भएर सामाजिक न्याय र रूपान्तरणको निम्ति अघि बढ्न अपिल गर्न चाहन्छु । केही समयदेखि आन्दोलनलाई एकताबद्ध गर्ने प्रक्रिया अघि बढिसकेका छन्,’ उनले थपे, ‘मैले पनि धेरै समूहसँग छलफल गरेको छु, मलाई विश्वास छ छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ । त्यसले आम माओवादी नेता कार्यकर्ता मात्र नभई आम जनतालाई पनि एक पटक उत्साहित गर्नेछ । कम्युनिस्ट र समाजवादी आन्दोलनका शक्तिहरूसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको छ । छिटै एउटा समाजवादी मोर्चा नेपालको भोलिको नेतृत्व निर्माणमा आउने विश्वास लिएको छु ।’

प्रधानमन्त्री दाहालले सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट सुरु गर्ने बताए । उनले नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिममा स्थापना गर्ने बताए । प्रधानमन्त्री दाहालले जनयुद्ध दिवसका दिन नै विकासमा फड्को मार्दै गर्दा आफ्नो इच्छा, आकाङ्क्षा र देश विकास र सुशासनमा लाग्न प्रेरित गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्