Flash News

उपनिर्वाचनमा सत्ता गठबन्धनका छुट्टाछुट्टै उम्मेदवार

१५ चैत्र २०८०, बिहीबार ०२:१७

काठमाडौँ। आगामी वैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधि सभा सदस्य र बझाङ १ को प्रदेश सभा सदस्य १ मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका छुट्टाछुट्टै उम्मेदवार हुने भएका छन्।

सत्ता गठबन्धनमा हाल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी छन्। यी पाँच दलमध्ये जसपा अनिर्णीत बन्दा नेकपा एमालेले इलाम २ मा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ।

त्यस्तै प्रदेशसभातर्फ उम्मेदवारी नदिने निर्णय गरेको सत्ता गठबन्धनभित्रकै दल रास्वपाले इलाम–२ मा उम्मेदवारको खोजी गरिरहेको छ। उसले स्वतन्त्र उम्मेदवारी दिएका मिलन लिम्बुलाई समर्थन गर्ने वा आफ्नै उम्मेदवार उठाउने भन्ने अन्तिम निर्णय गरिसकेको छैन।

अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पनि दुवै स्थानमा उम्मेदवारी उठाउने निश्चित भएको छ। यद्यपि यो पार्टीले पनि आधिकारिक निर्णय नगरे पनि नेता झलनाथ खनालले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको बताए ।

माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। बुधवार बिहान बसेको माओवादी केन्द्रीय सचिवालय बैठकले जिल्लाको समन्वयनमा पार्टी अध्यक्ष प्रचण्डलाई उम्मेदवार तय गर्न जिम्मेवारी दिएको छ। नेकपा माओवादी इलाम जिल्ला कमिटीले चार जनाको नामावली माथिल्लो कमिटीलाई सिफारिस गरिसकेको छ।

उपनिर्वाचनका लागि आगामी चैत २४ गते उम्मेदवारी दिने कार्यतालिका छ। त्यसअघि दलहरूबिच एक अर्कामा बार्गेनिङ पावर बढाउन उम्मेदवारी दिने रणनीति पनि भएको हुनसक्ने कतिपयको बुझाई छ। जसअनुसार गठबन्धनभित्रका दलहरूबिच अन्तिम समयसम्म अहिलेसम्मको निर्णयमा फेरबदल समेत हुनसक्ने कतिपय नेताहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्