Flash News

हाम्रा बजार नीतिमा रहेका त्रुटि खोजौं’

२२ चैत्र २०८०, बिहीबार १४:३१

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तर्राष्ट्रिय बजारमा उत्रिन सक्ने नीति निर्माण गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

सार्वजनिक सेवा प्रवाहमा राष्ट्रसेवक कर्मचारीले खेल्नुपर्ने भूमिका विषयक राजधानीमा बिहीबार आयोजित अन्तरक्रियामा उनले मुलुकको अर्थतन्त्रको अवस्था सुधारको खाँचो औंल्याए । त्रुटि सच्याएर बलियो नीति निर्माण गर्नुपर्ने उनले बताए । उनले सत्ताको नेतृत्वको एक्लो बलले अपेक्षित उपलब्धि हासिल गर्न सक्भव नहुने भन्दै कर्मचारीले सघाउनुपर्ने भनाइ राखे ।

उनले भने, ‘मैले प्रधानमन्त्रीलाई भने हाम्रो देशको अर्थतन्त्रको अवस्था सुधार गर्नको लागि हाम्रा नीतिहरुमा के त्रुटि छन्, त्यसको खोजी गर्ने, हाम्रो कामको कमजोरी खोजी गर्ने सबैको बारेमा राम्रो तरिकाले छलफल गरौं । यो सबै कुरा तब सम्भव छ, जब हामीलाई देशको समस्या पोल्छ, लिएको जिम्मेवारी देश र जनताको लागि हो भन्ने भावनाबाट हामीलाई अघि बढ्न प्रेरित गर्छ । अन्तर्राष्ट्रिय बजारमा उत्रिन सक्ने गरि हाम्रो नीति निर्माण हुनुपर्छ ।’

उनले सत्ताको स्वार्थले अघि बढ्न प्रेरित गरिसकेपछि विकास सम्भव नभएको भन्दै इमान्दार भएर परिवर्तनको लागि अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘जसरी भए पनि कुर्सीमा पुगौं, सत्ता आफ्नो हातमा लिउँ भन्ने भावना जागेपछि मानिसले केही पनि गर्न सक्दैन । उसलाई सत्ताको स्वार्थले प्रेरित गरिरहेको हुन्छ, स्वार्थको भावनाले अघि बढ्न प्रेरित गरिरहेको हुन्छ त्यसकारण हामी इमान्दार भएर लाग्नु पर्छ । यो भयो भने राजनीतिक, प्रशासनिक क्षेत्रमा सेवाको भावना जाग्छ । नेपालको प्रशासनमा आमूल परिवर्तनको आवश्यकता छ ।’

प्रधानमन्त्री एक्लैले केही गर्न नसक्ने भन्दै उनले कर्मचारीले सघाउनुपर्ने बताए ।  ‘राजनीतिकर्मीहरु इमान्दार र निष्ठावान भएनन्, उनीहरुले स्वच्छ छवि कायम राख्नुपर्छ भन्ने मान्यता राखेनन् भने राष्ट्र सेवकहरुले नयाँ कुरा सिक्न सक्दैनन्,’ उनले भने, ‘उनीहरुलाई प्रेरित गर्ने कुरामा पनि राजनीतिक र सञ्चार क्षेत्रको ठूलो भूमिका हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्