Flash News

ज्ञानेन्द्र र पारसलाई सँगै राखेर दुर्गा प्रसाईंले सुरू गरे नागरिक बचाउ अभियान

१ फाल्गुन २०७९, सोमबार १३:३०

काठमाडौँ। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन्।

काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो राजपरिवारका अन्य सदस्यहरूको पनि उपस्थितिमा प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हुन्। उक्त अभियान पूर्वराजा ज्ञानेन्द्र शाहले आज उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई पूर्वराजा शाहले सम्बोधन भने गरेनन्। कार्यक्रम उद्घाटन गरेर पूर्वराजा शाह दमकस्थित चिया बगान फर्किएका छन्। उनी आज दमकबाटै यो कार्यक्रम उद्घाटन गर्न काँकडभिट्टा पुगेका थिए।

प्रसाईं गत वर्ष मंसिरमा भएको एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। प्रसाईं सशस्त्र युद्धका बेलामा माओवादीमा लागेका थिए। उनलाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेको थियो।

शान्ति प्रक्रियापछि पनि माओवादीमै सक्रिय रहेका प्रसाईंले २०७४ को चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुरस्थित उनको निवासमा छलफल गर्ने गर्थे। त्यही क्रममा उनीहरूले मार्सी चामलको भात खाएको तस्बिरले त्यतिबेला निकै चर्चा पाएको थियो।

एमाले र माओवादीबीचको एकता खारेज भएर दुबै पुराना दल ब्युँतिएपछि प्रसाईं एमालेतिर लागेका थिए। गत मंसिरको चुनावमा उनी एमालेबाट झापा-३ मा प्रतिनिधि सदस्यको उम्मेदवार बन्न चाहन्थे।

चुनावी प्रचारको तयारीसमेत गरिरहेका प्रसाईंलाई एमालेले उक्त क्षेत्रमा आफ्नो उम्मेदवार उठाएन। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले समर्थन गर्ने निर्णय गरेपछि प्रसाईं रूष्ट बनेका थिए।

प्रतिक्रिया दिनुहोस्