Flash News

बालाजुमा झडप: १७ प्रहरी घाइते, लोत्से मलमा तोडफोड र मोबाइल चोरी

२ फाल्गुन २०७९, मंगलवार ०२:३१

काठमाडौँ। बालाजुमा यातायात मजदुरको प्रदर्शनमा झडप हुँदा घाइते हुने प्रहरीको संख्या १७ पुगेको छ। हुलदंगा नियन्त्रणमा खटिँदा घाइते हुनेमा प्रहरी इन्स्पेक्टर शेरबहादुर बस्नेत पनि छन्। उनीहरूको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरी अस्पतालमा कार्यरत एकजना चिकित्सकले रातोपाटीलाई बताए। ती चिकित्सकले भने,‘ ५ बजेदेखि घाइते प्रहरी कर्मचारी आउन थालेका थिए।’ सोमबार बालाजुस्थित नयाँबसपार्क व्यवस्थापनको जिम्मा पाएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरसहितको समूहले मजदुरहरूलाई आक्रमण गरेपछि झडपको अवस्था आएको बताइएको छ।

मजदुरहरूमाथि भएको आक्रमणविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले प्रदर्शन गरेका थिए। ती संगठनले आफ्ना १० बुँदे माग पुरा नभएसँम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने निर्णय गरेका छन्। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो।

१० जना यातायात मजदुर पक्राउ

बालाजुस्थित माछापोखरी क्षेत्रमा प्रदर्शन गर्ने १० जना यातायात मजदुरलाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शन स्थलबाट १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी एसपी सिताराम रिजालले बताए।

आफ्ना १०बुँदे मागबारे जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा नयाँ बसपार्कको ठेकेरदार कम्पनी लोत्से बहुउद्देश्यिय प्रालिका महाप्रबन्धक सुनिल कुँवर सहितले आक्रमण गरेपछि ‘भिडन्त’ भएको यातायात मजदुरहरुले दावी गरेका छन्। कुँवरसहित लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि यातायात मजदुरहरुले माछापोखरी क्षेत्रमा दिनभर आन्दोलन गरेका थिए।

मोबाइल पसल लुटपाट

काठमाडौँ। बालाजुस्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरुले गरेको प्रदर्शनको क्रममा एउटा समूहले मोवाइल पसल लुटेर भागेको थाहा भएको छ। घटनास्थलको भिडियो दृश्यअनुसार ल्होत्से मलमा सञ्चालित मोवाइल पसल लुटेको देखिएको छ।

त्यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको छ। मोवाइल लुटिएको घटनाबारे अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी सिताराम रिजालले रातोपाटीलाई बताए। प्रहरी उपरीक्षक रिजालले भने– ‘मुचुल्का टोली गएको छ,अनुसन्धान हुन्छ।’

प्रदर्शनमा सहभागी १० जना यातायात मजदुरलाई प्रहरीले पक्राउ गरेको छ। आफ्ना मागबारे जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा नयाँ बसपार्कको ठेकेरदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर सहितले आक्रमण गरेपछि ‘भिडन्त’ भएको यातायात मजदुरहरुले दावी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्