Flash News

८ करोड भन्दा बढीको मोबाइल लुटियोः मोबाइल व्यवसायी संघ

२ फाल्गुन २०७९, मंगलवार ०६:२८

काठमाडौँ। यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ।

आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ। सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो। ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका र नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए। चालिसेका अनुसार उनको मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ।

सामाजिक सन्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा मोबाइल पसलको सटर खोलेर लुटपाट गरिरहेको दृष्य देखिन्छ। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाडौँमा एकत्रित भएका छन्। उनीहरुले आज पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी पनि गराउँदैछन्।

प्रतिक्रिया दिनुहोस्