राजनीनिती

दैलेखमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

२ फाल्गुन २०७९, मंगलवार ०६:४३

दैलेख। दैलेखको गुराँस गाउँपालिका ८ का २८ वर्षीय कृष्णबहादुर खड्काको कुटपिटबाट २७ वर्षीया श्रीमती पार्वती बिसीको मृत्यु भएको छ।

सोमबार राती गुराँस गाउँपालिका ८ गर्चाका २८ वर्षीय खड्काले २७ वर्षीया श्रीमती बिसीलाई कुटपिट गरि हत्या गरेका हुन्। श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको दैलेख प्रहरीले जानकारी दिएको छ।

स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमतिबीच विवाद हुँदै आएको थियो। सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए। गत मंसिरमा मात्रै उनीहरुको परिवारले विवाह गराई दिएका थिए। प्रहरीका अनुसार दुवैजना शारीरिका रूपमा अशक्त थिए। श्रीमान् कान सुन्न नसक्ने र श्रीमती पनि शारीरिक रूपमा अशक्त रहेको पाइएको छ।

घटनाबारे थप अनुसन्धान भै रहेको छ, डीएसपी लम्सालले भने। कृष्णबहादुर सुन्न नसक्ने भएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ। शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको र केटीको परिवारले जाहेरी दिने तयारी गरेको डीएसपी लम्सालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्