Flash News

लुटपाट र तोडफोडमा संलग्न थप १५ जना पक्राउ

४ फाल्गुन २०७९, बिहीबार ०७:१३

काठमाडौँ। ल्होत्से मलमा भएको लुटपाट र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीले बताए।

उनले भने, ‘भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं, थप केही निगरानीमा छन्।’ पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक रहेको पुष्टि भएको उनले बताए। पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएका थिए।

आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मोका छोपेर उनीहरुले दुई वटा पसलमा तोडफोड र लुटपाट गरेका थिए। त्यसबेलाको भिडियो र फोटोहरुका आधारमा अनुसन्धान गरेर संलग्नलाई पक्राउ गरिएको एसएसपी डा। केसीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्