Flash News

लोत्से मल लुटपाट: खलासी, ड्राइभर र व्यापारीदेखि वेटरसम्म संलग्न

४ फाल्गुन २०७९, बिहीबार ०८:३६

काठमाडौँ। यही फागुन १ गते गोंगबु बसपार्कस्थित लोत्से मलमा भएको लुटपाटमा आन्दोलनरत यातायात मजदुर नै संलग्न रहेको खुलेको छ।

लोत्से मलभित्र सञ्चालित पसलबाट मोबाइल, ल्यापटप लगायतका सामानसहित ८ करोड बढीको चोरी भएको व्यापारीहरुले दाबी गरेका थिए। उक्त चोरी र लोत्से मलमा तोडफोडमा सवारी चालक र सहचालक नै ठूलो संख्यामा संलग्न रहेको खुलेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न थप १५ जनालाई पक्राउ गरेको छ। कार्यालयका प्रमुख एसएसपी डा। मनोज केसीका अनुसार लुटपाटमा संलग्न मध्ये ८ जना चालक र सहचालक छन्। यस्तै दुई जना व्यापारी, एक जना वेटर र दुईजना विद्यार्थी पनि संलग्न रहेको खुलेको छ। उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ। दुईजना अन्य ज्यालादारीमा मजदुरी गर्ने युवा पनि छन्।

यसअघि सरकार र यातायात मजदुर संगठनबीच पक्राउ परेका आन्दोलित मजदुरलाई छाड्ने सहमति भएको थियो। तर लुटपाट, तोडफोड र आगजनीमा उनीहरुकै संलग्नता देखिएको हो। लुटपाट र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने सहमति पत्रमै उल्लेख छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका व्यक्ति मुख्य अभियुक्तहरु हुन्। उनीहरु संलग्न रहेको भिडिओका आधारमा पक्राउ गरिएको एसएसपी केसीले बताए। यसअघि बुधबार काठमाडौं प्रहरी परिसरले थप १० जनालाई पक्राउ गरेको थियो। बिहीबारसम्म पक्राउ पर्नेको संख्या २५ पुगेको छ।

यातायात मजदुरमा २ जना सवारी चालक र ६ जना सहचालक छन्। काभ्रेको पाँचखालका सहचालक १९ वर्षीय सुरज मगर, नुवाकोटको सूर्यगढ ४ का १९ वर्षीय केशर राई, सिन्धुलीको सिन्धुली गढी ६ का १८ वर्षीय इन्द्र तामाङ रहेका छन्। उनीहरु तीनैजना सहचालक हुन्।

यस्तै नीलकण्ठ नगरपालिका ६ धादिङका चालक २६ वर्षीय इलाराज गुरुङ, नमोबुद्ध २ काभ्रेका १८ वर्षीय चालक हरिशरण तामाङ, सहचालक नीलकण्ठ ६ धादिङका १८ वर्षीय विकास गुरुङ, सहचालक उदयपुरगढी ६ उदयपुरका २७ वर्षीय राजन राउत, रत्ननगर ११ चितवनका २७ वर्षीय संविधान परियार रहेका छन्।

दुईजना व्यापारी आफैँ लुटपाटमा संलग्न देखिएका छन्। काठमाडौं महानगरपालिका १६ माछापोखरीका २२ वर्षीय रोमन कालिकोटे र माछापोखरीकै व्यापारी ३३ वर्षीय माधव शाही पनि पक्राउ परेका छन्। ज्याला मजदुरी गर्ने चौदण्डी ५ उदयपुरका ३० वर्षीय रितेश बस्नेत र बेलवारी ४ मोरङका ३० वर्षीय यमन राई पनि पक्राउ परेका छन्।

ककनी ८ नुवाकोट घर भई काठमाडौंमा पढ्ने विद्यार्थी १८ वर्षीय सुनिल कालिकोटे र ककनी ७ नुवाकोटकै १८ वर्षीय सुदीप तामाङ पनि लुटपाटमा संलग्न रहेको खुलेको छ। वेटरको काम गर्ने सामाखुसीका १९ वर्षीय कविन खड्गी पनि लुटपाटमा संलग्न रहेको खुलेको छ। उनीहरुको साथबाट प्रहरीले विभिन्न सामाग्री बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्