Flash News

कांग्रेस सांसद भण्डारीको दुईवटा शल्यक्रिया हुँदै

५ फाल्गुन २०७९, शुक्रबार ०२:५८

काठमाडौँ। मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आजै दुईवटा अपरेशन हुने भएको छ। बुधबार राति ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका भण्डारीको मुम्बईमा उपचार सुरु गरिएको छ।

सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो। सांसद भण्डारीसँगै रहेका व्यवसायी योगराज कँडेलका अनुसार भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ।

चिकित्सकलाई उद्धृत गर्दै कँडेलले दिएको जानकारीअनुसार शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान साढे १० बजे पहिलो र साढे १ बजे आजै दोस्रो सर्जरी गरिने छ। भण्डारीको हृदयको चाल नर्मल रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको कँडेलले बताए। यस्तै भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए।

उनले भने, ‘नेपालबाट ल्याउँदा अवस्था स्थिर थियो यहाँ आएपछि चिकित्सकले प्रारम्भिक परीक्षण गरेपछि खतरामुक्त रहेको बताउनुभएको छ।’ सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ। काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्