राजनीनिती

पूर्वमन्त्री श्रेष्ठको निधन

८ फाल्गुन २०७९, सोमबार ०६:५६

काठमाडौँ। नागरिक आन्दोलनका अगुवा तथा पूर्वस्वास्थ्यमन्त्री डा। मथुराप्रसाद श्रेष्ठको ८९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।

कोभिड संक्रमित भएपछि उनको छातीमा समस्या देखिँदै आएको थियो । केहीदिनदेखि श्वासप्रश्वासको समस्या बल्झिएपछि उनी काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको निधन भएको अस्पातलका न्युरोसर्जन डा। बसन्त पन्तले पुष्टि गरे ।

मेडिकल काउन्सिलका रजिस्ट्रार डा। कृष्णप्रसाद अधिकारीका अनुसार श्रेष्ठको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । परिवारका सदस्यहरू विदेशमा रहेकाले उनीहरू आएपछि मात्रै श्रेष्ठको अन्येष्टिको प्रक्रिया थालिने उनले जानकारी दिए ।

जनआन्दोलनपछि २०४७ सालमा बनेको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री समेत रहेका थिए । नागरिक समाजबाट स्वतन्त्र व्यक्ति सहभागी हुने भएपछि उनी स्वास्थ्यमन्त्री भएका थिए ।

कम्युनिटी मेडिसिनका प्राध्यापक श्रेष्ठले नेपाल सरकारको चिकित्सा पेसा अध्ययन र अध्यापानमा पाठ्यक्रम निर्माणमा महत्वपूर्ण काम गरेका थिए । जनस्वास्थ्यको क्षेत्रमा समुदायस्तरको प्राथमिक उपचार नेपालजस्ता मुलुकलाई उपयुक्त हुने भन्दै उनी त्यसको पैरवी गरिरहन्थे । चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको स्थापनामा उनको सक्रिय भूमिका थियो ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मानव अधिकार आन्दोलनका अगुवा तथा वरिष्ठ वामपन्थी बुद्धिजीवी श्रेष्ठको निधनको खबरले आफूहरू अत्यन्त दुःखी भएको सामाजिक सञ्जालमा श्रद्धाञ्जली प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्