राजनीनिती

पुरानो गठबन्धन ब्युँताउने कसरत तीव्र

८ फाल्गुन २०७९, सोमबार ०७:०७

काठमाडौँ। तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउन नेताहरू सक्रिय भएका छन्। पुरानो गठबन्धनका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटघाटलाई तीव्रता दिएका हुन्।

आम निर्वाचनपछि प्रधानमन्त्री चयन गर्ने बेला सो गठबन्धन टुट्न पुगेको थियो। पूर्व सहमति अनुसार नेपाली कांग्रेसले आफूलाई प्रधानमन्त्री दिन तयार नभएको भन्दै माओवादी अध्यक्ष प्रचण्ड नेकपा एमालेसहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री भएका थिए। अहिले राष्ट्रपतिको निर्वाचन नजिकिन थालेपछि वर्तमान सत्ता गठबन्धन भत्काएर फेरि पुरानै गठबन्धन निर्माण गर्न नेताहरू सक्रिय देखिएका छन्।

आइतबार बेलुका ४ बजे प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेटेको नेपाल निकट एक नेताले बताए। प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेपाल र यादवले पुरानो गठबन्धन निर्माण गर्ने विषयमा छलफल गरेको ती नेताले बताए।

नेपाल र यादवले भेटे लगत्तै आइतबार राति नै नेपाली कांग्रेसका नेताहरूले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन्। प्रचण्डलाई भेट्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए।

प्रचण्डसँग कांग्रेस नेताहरूले करिब २ घण्टासम्म भेटेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए। कांग्रेस नेताहरूले आफ्नो पार्टीका राष्ट्रपतिको उम्मेदवारलाई सघाउन आग्रह गरेपछि प्रचण्डले सकारात्मक जवाफ दिएको कांग्रेस नेताहरूको दाबी छ।

राष्ट्रपतिका विषयमा प्रचण्डले पार्टी बैठकमा छलफल गरेर आधिकारिक निर्णय गर्ने बताएका छन् । आगामी फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी दर्ता हुँदैछ भने निर्वाचन फागुन २५ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्