काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै लागि परेको आरोप लगाएका छन् ।
आइतबार पार्टीले आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’अन्तरक्रिया कार्यक्रममा उनले अध्यादेश ल्याएर एकीकृत समाजवादी पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याएर जसपाका दोस्रो तारो बनाएको बताए ।
उनले भने,‘यहाँ कम्युनिस्ट भनिएकाहरु नै कम्युनिस्ट विरोधी भइरहेका छन् । कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै कसरी लागे भन्ने कुरा हामीले बुझ्नुपर्छ । अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याउन लागेका छन् । त्यसैले हाम्रा मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जनता समाजवादी पार्टीलाई जुन स्थानमा पुर्याउन काम भयो दोस्रो तारो हामी बनिरहेका छौं । यथार्थलाई बुझ्न सकेनौं भने गफले मात्र केही हुने वाला छैन् ।’
उनले युवा भनेर भ्रष्टाचारमा चुलु्म्म डुब्ने, जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन नसक्ने तर्क गरे ।
नेपालले एक दलीय शासनले समाजवाद स्थापित हुन नसक्ने टिप्पणी पनि गरे । उनले अहिले पार्टीलाई जोगाउने कुरा पहिलो कुरा भएको बताए । पार्टीलाई सशक्त बनाउन, नयाँ क्रान्तिकारी योद्धाहरु र युवालाई आकर्षण गर्ने मूल काम भएतापनि युवा भनेर भ्रष्टाचारमा चुलु्म्म डुब्ने, जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए ।
उनले भने,‘अहिलेको अवस्थालाई विश्लेषण पार्टीलाई जोगाउन, अस्तित्व रक्षा गर्ने पहिलो कुरा हो, संगठन बलियो बनाउने कुरा दोस्रो हो। । पार्टीलाई सशक्त बनाउन,नयाँ क्रान्तिकारी योद्धा र युवालाई आकर्षण गर्ने मूल काम हो । भ्रष्टाचारमा चुलु्म्म डुब्ने,जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन ।’