Flash News

लिग टू क्रिकेटमा नेपालको रोमाञ्चक जित

९ फाल्गुन २०७९, मंगलवार ११:१८

काठमाडौं। लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ। २ विकेटको यो जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ।

कप्तान रोहित कुमार पौडेल र करण केसीले नवौँ विकेटका लागि कीर्तिमानी साजेदारी गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ ।

रोहितले अविजित ९५ रन बनाएपछि २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै शानदार जित निकालेको हो । रोहितले १०१० बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । दशौँ नम्बरमा ब्याटिङ गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए । १३८ रनमा ८ विकेट गुमाएको अवस्थामा रोहित र करणले संयमित ब्याटिङ गर्दै नेपाललाई जित सम्म पूर्याए । यो जोडीले नवौँ विकेटका लागि अविजित ७५ रनको साझेदारी गरे । नेपालले लिग टु मा पहिलो पटक शृंखलाको चारै खेल जितेको हो र घरेलु मैदानमा शृखंला क्लिन स्वीप गर्ने नेपाल पहिलो टिम समेत बनेको छ । नेपालले यसअघि नामिबियालाई दुई र स्कटल्याण्डलाई एक पटक हराएको थियो । यसअघि नेपालले २७० भन्दा बढी लक्ष्य पूरा गर्दै जित निकालेको थियो । नेपालले लगातार चार खेलमा २१० रनमाथिको लक्ष्य पूरा गरेको हो । आजको खेलमा भने नेपालले सुरुवात देखि नै दबाबमा परेको थियो ।

दोस्रो ओभरमा ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख सातौं ओभरमा १२ रन बनाएर आउट भए । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाउँदा दबाबमा परेको थियो । ज्ञानेन्द्र मल्ल २१ र कुशल मल्ल १७ र सन्दिप जोरा १ रनमा आउट हुँदा नेपालले ६१ रनमा ५ विकेट गुमायो । त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ४२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । तर दीपेन्द्र व्यक्तिगत ७ रन बनाएर २४औं ओभरमा आउट भए । सोमपाल कामी २७औं ओभरमा २ रन बनाएर आउट भए । करण केसी भन्दा अगाडि ब्याटिङ गरेका सन्दीप लामिछानेले ९ रन बनाए । रोहित र सन्दीपले आठौं विकेटका लागि २४ रनको साझेदारी गरेका थिए । त्यसपछि रोहित र करणले शानदार ब्याटिङ गर्दै जित दिलाए । स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस भ्रिग्सले २ विकेट लिए । ब्रान्डन म्याकुलेन, सफ्यान शरिफ र माइकल लिस्कले समान १ विकेट लिए ।

नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित टीयू मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै दश विकेट गुमाएर २१२ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । पहिले ब्याटिङमा आएको स्कटल्याण्डले राम्रो सुरुवात गरेको थियो । काएल कोएत्ज र जर्ज मुन्सीले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे । पहिलो खेलमा नामिबिया विरुद्ध शतक बनाएपछि दुई खेलमा बेन्चमा बसेका बर्थडे ब्वाए मुन्सीले नेपाल विरुद्ध आक्रमक ब्याटिङ गर्दे ६० रन बनाए । त्यसका लागि उनले ५० बल खेल्दे ९ चौका र २ छक्का प्रहार गर । कप्तान रोहितले आठौं ओभरमै स्पीनर सन्दीपलाई बल थमाए । सन्दीपले उक्त ओभरमै कोएत्जर र मुन्सीको साझेदारी ब्रेक गरे । सन्दीपले कोएत्जरलाई एबलीडब्लु शिकार बनाए । पहिलो विकेट गुमाएपनि मुन्सीले आक्रमक ब्याटिङ गरिरहेका थिए । तर १४औ ओभरमा सन्दीपले लगातार दुई बलमा विकेट लिएपछि नेपालले खेलमा कमब्याक गर्यो । मुन्सेले दवस्रो विकेटका लागि क्रिस म्याब्राइजसँग ४७ रनको साझेदारी गरे । सन्दीपले मुन्सेलाई बोल्ड गर्दै साझेदारी तोडे । लगत्तै कप्तान रिची बेरिङटनलाई एलबीडब्लु धरापमा पारे । कुशल मल्लले २२ रन बनाएका म्याब्राइजलाई २१औं ओभरमा एलबिडब्लु आउट गर्दै नेपाललाई चौथो सफलता दिलाए ।

उत्कृष्ट बलिङ गरेका सन्दीपले १ रन बनाएका टोमस म्याकिन्टोसलाई सन्दिप जोराबाट अर्को ओभरमा क्याचआउट गराए । ११८-५ को अवस्थामा रहेको स्कटल्याण्डका लागि विकेटकिपर म्याथ्यु क्रस र ब्रान्डोन म्याकमुलेनले इनिङ्स अघि बढाए । यी दुईले छैटौं विकेटका लागि ५७ रनको साझेदारी गरे । ३५औं ओभरमा नेपालले यो साझेदारी तोड्यो । करण केसीको बलिङमा दीपेन्द्र सिंह ऐरीले क्रसलाई डाइरेक्ट हिटमार्पत रनआउट गरे । लगत्तै करणले नेपालले विरुद्ध अघिल्लो खेलमा शतक बनाएका माइकल लिस्कलाई बोल्ड गरे । ओडिआई क्रिकेटमा मा करणको यो ५०औं विकेट हो । करणले नै ३९औं ओभरमा म्याकुलेनलाई ललित राजवंशीबाट क्याचआउट गराए । राजवंशीले ४० ओभरमा ७ रन बनाएका क्रिस ग्रिभ्सलाई एलबीडब्लु धरापमा पारे । करणले अन्तिम विकेटको रुपमा मार्क वाटलाई आउट गरे । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । सन्दीपले यस शृख्लामा कूल १३ विकेट लिए । उनले यसअघिका तीन खेमा ३-३ विकेट लिएका थिए । लिग टु मा सन्दीपले ५५ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन् । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए ।

प्रतिक्रिया दिनुहोस्