काठमाडौँ। प्रदेश १ को नाम कोशी प्रदेश प्रस्ताव गर्दै नेपाली कांग्रेस र नेकपा एमालेले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन्।
प्रदेशसभा सचिवालयले प्रस्ताव दर्ताका लागि दिएको १२ बजेदेखि १ बजेसम्मको समयमा एमालेको प्रस्ताव र कांग्रेसको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो।
उक्त प्रस्तावको प्रस्तावक एमालेका रामबहादुर मगर रहेका छन् भने समर्थकमा कांग्रेसका भूमिप्रसाद राजवंशी रहेका छन्। ‘प्रदेशले आफ्नो नामाकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्नै दायित्व पुरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाती, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपर्युक्त ठानिएको छ,’ प्रस्तावमा भनिएको छ।
आजको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश भई निर्णय गर्ने कार्यसूची तय भएको छ। यद्यपि ११ बजेका लागि तय गरिएको बैठक दलहरुबीचको छलफल र सहमतिको प्रयासले केही समय पछि धकेलिएको छ। यसैबीच नेकपा एस र जसपाको तर्फबाट ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश नामाकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको छ। नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो।